भदौ र असोजमा डेंगी संक्रमितको संख्या उच्च रहने प्रक्षेपण – Nepal Press

भदौ र असोजमा डेंगी संक्रमितको संख्या उच्च रहने प्रक्षेपण

डेंगी नियन्त्रणमा पालिकालाई ५० हजारदेखि ८ लाखसम्म विनियोजन गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य सेवा विभागले यस वर्ष पनि जेठ महिनादेखि डेंगीको संक्रमण बढ्दै गई भदौ र असोज महिनामा संक्रमितको संख्या उच्च रहने जनाएको छ ।

विभागले ‘डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१’ स्थानीय तहलाई पत्राचार गर्दै त्यसका लागि विभागको कार्ययोजना अनुसार डेंगी रोकथाम तथा नियन्त्रणमा काम गर्न परिपत्र गरेको हो ।

विभागले कार्ययोजनामा रहेका क्रियाकलाप सञ्चालन गर्न अनुमानित बजेट समेत प्रस्ताव गरेको छ । यसरी बजेट प्रस्ताव प्रस्ताव गर्दा डेंगी रोगको आर्थिक वर्ष २०७९–०८० तथा २०८०–०८१ को अहिलेसम्म देखा परेको डेंगी रोगको बिरामीको तथ्यांकको आधारमा संघ, प्रदेश र स्थानीय तहमा बजेट आवश्यकताको पहिचान गरेको हो ।

डेंगी रोगको निदान प्रयोजनका लागि किट व्यवस्थापन, डंगी रोग सार्ने लामखुट्टेको निगरानी तथा वयस्क लामखुट्टे नियन्त्रण प्रयोजनका लागि बिषादी खरिद आदिको बजेट केन्द्रमा माग गरिएको छ भने डेंगी रोग सार्ने लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने प्रमुख रणानीतिक कार्यान्वयनका लागि स्थानीय तह र जिल्लालाई बजेट प्रस्ताव गरिएको छ ।

प्रस्तावित बजेट विगतमा देखिएको डेंगी रोगको तथ्यांक र जोखिम विश्लेषणका आधारमा स्थानीय तहलाई तथा प्रदेशलाई विनियोजना गर्न सिफारिस गरिएको छ । माग गरिएको अनुमानित बजेटमा प्रकोपको अवस्थाको आधारमा थप बजेट आवश्यक पर्ने वा नपर्ने सम्बन्धित निकायले नै एकिन गर्न सक्ने विभागको कार्ययोजनामा उल्लेख छ ।

विभागका अनुसार १ हजार भन्दा बढी डेंगी रोगको संक्रमण रहेका ७ स्थानीय तहलाई ८ करोडका दरले समग्रमा ५६ लाख, १ हजारसम्म संक्रमण रहेका २७ स्थानीय तहलाई ५ लाखका दरले १ करोड ५६ लाख, १ सयसम्म मात्रै संक्रमित रहमेका २६ स्थानीय तहलाई ३ लाखका दरले ७८ लाखसम्म विनियोजना गर्न सिफारिस गरेको छ । यस्तै ५० जनासम्म संक्रमित रहेका १४० स्थानीय तहलाई २ लाखका दरले २ करोड ८० लाख र १० भन्दा कम संक्रमित रहेका ५५३ स्थानीय तहलाई ५० हजारका दरले २ करोड ७६ लाख ५० हजार विनियोजन गर्न सिफारिस गरिएको छ ।

यस्तै बागमती प्रदेशलाई सबैभन्दा बढी ५८ लाख ७५ हजार, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशलाई बराबर ४२ लाख ७५ हजार विनियोजन गर्न सिफारिस गरिएको छ । बाँकी कोशी प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशलाई बराबर २१ लाख बजेट विनियोजन गर्न प्रस्ताव गरिएको छ ।

संघ अन्तरगत भने एकमुष्ट ६ करोड ४९ लाख ५० हजार विनियोजन गर्न प्रस्ताव गरिएको छ । संघ अन्तरगत डेंगी रोगको निदान किट खरिद, डंगी रोग नियन्त्रणका लागि विषादी तथा अन्य आवश्यक सामान ढुवानी, बाहकको नियमित निगरानी, अनुगमन तथा मूल्यांकन र द्रुत प्रतिकार्यका लागि प्रदेश तथा समवन्वय र सहकार्यका लागि विनियोजनका लागि प्रस्ताव गरिएको छ ।

विभागका अनुसार आगामी असोजपछि भने क्रमशः डेंगी संक्रमण कम हुँदै जाने अनुमान गरिएको छ । त्यसलाई मध्यनजर गर्दै विभागले सात वटै प्रदेशमा ईन्तोमोलोजिकल ल्याब स्थापना गरी सकिएको र करिब ८० भन्दा बढी स्वास्थ्यकर्मीलाई फिल्ड ईन्टोमोलोजी बेसिक तथा फ्रिेसर तालिम सञ्चालन गरिसकिएको जनाएको छ । डेंगी सार्ने लामखुट्टेको लार्भालाई खोज तथा नष्ट गर्ने अभियानको भिडियो सामग्री बनाएर सञ्चार गरिएको पनि जनाइएको छ ।

विभागका अनुसार वर्षायामसँगै डेंगी रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थान पर्याप्त मात्रामा हुने भएकाले बहुपक्षीय समन्वय र सहकार्य बिना लामखुट्टेको नियन्त्रण गर्न कठिन रहने अनुमान गरिएको छ । साथै कतिपय निजी तथा सरकारी अस्पताल र स्वास्थ संस्थाबाट संक्रमित सबै डेंगी रोगीको तथ्यांक नियमित र पूर्ण रुपमा प्राप्त हुन नसकेको, डेंगी रोगको चाप अत्याधिक भएका कारण डेंगी पहिचानका लागि आवश्यक डेंगी किटको मागलाई सम्बोधन गर्न नसकिएको जनाइएको छ ।

निरन्तर वर्षभरि लामखुट्टेको निगरानी गर्न इन्टोमोलोजिष्ट तथा आर्थिक श्रोतको अभाव रहेको, लामखुट्टे रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिकालाई पैरवी हुन नसकेको पनि विभागले जनाएको छ ।

समुदाय तथा आम नागरिक तहसम्म जोखिम सञ्चारलाई जानकारी दिन कठिन भएको, निजी स्वास्थ्य संस्थाबाट डेंगी रोगको निदानका लािग प्रयोग भएका डेंगी किटको गुणस्तर तथा मुल्यमा एकरुपता हुन नसकेको विभागको भनाई छ ।

आर्थिक वर्ष २०७९–०८० मा डेंगी रोगकथामका लागि संघ, प्रदेश र स्थानीय तहमा विनियोजित बजेट खर्च भइसकेको तर सामान्यतया डेंगीको संक्रमण बैशाखबाटै देखापर्ने हुदाँ रोकथाम तथा नियन्त्रणका लागि आर्थिक श्रोतको अभाव हुनसक्ने जनाइएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा २०६१ सालदेखि डेंगी रोग देखिन शुरु भएपछि प्रत्येक वर्ष यो रोग देशका विभिन्न जिल्लामा कहिले महामारीको रुपमा त कहिले छिटफुट रुपमा देखापर्ने गरेको छ ।

२०८० बैशाख महिनादेखि डेंगी रोगका बिरामीको संख्यामा वृद्धि भइ भदौ, असोज र कात्तिक महिनामा देशका ७७ वटै जिल्लाबाट प्रतिवेदन प्राप्त भएको थियो । जसमध्ये, सुनसरी लगायत १० भन्दा बढी जिल्लामा प्रकोपको रुपमा देखा परेको थियो । २०८० पुष मसान्त सम्ममा देशभर झण्डै ५२ हजार भन्दा बढी व्यक्तिमा संक्रमण भइ २० जना व्यक्तिको मृत्युको प्रमाणीकरण भइसकेको छ ।

संक्रमणको हिसाबले कोशी, बागमती र गण्डकी प्रदेशमा बढी संक्रमण देखिए पनि कूल संक्रमितको ८० प्रतिशत भन्दा बढी संक्रमित सात वटै प्रदेशका १० जिल्लामा रहेका थिए । जसमा सुनसरी, तनहु, झापा, कास्की काठमाडौं, मोरङ, शंखुवासभा, कैलाली, भक्तपुर र धादिंङ रहेका थिए ।

डेंगीबाट मृत्यु प्रमाणित भएका व्यक्तिको तथ्यांक पुनरावलोकन गर्दा कूल मृतक मध्ये ५० प्रतिशत भन्दा बढी मृत्यु ५५ वर्ष वा त्यस भन्दा बढी उमेर समुहमा भएका र मृत्यु भएका व्यक्तिमा डेंगीसंगै अन्य दीर्घ रोगका साथै निमोनिया, स्क्रब टाईफस् लगायतका संक्रमण रहेको पाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *