विज्ञापन बजारमा रहेकाे चुहावट नियन्त्रण गर्न मन्त्री गुरुङको निर्देशन – Nepal Press

विज्ञापन बजारमा रहेकाे चुहावट नियन्त्रण गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजश्व वृद्धि गर्नु पर्ने बताएका छन् । आज विज्ञापन बोर्डका गतिविधिको बारेमा जानकारी लिँदै मन्त्री गुरुङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

उनले ३० अर्बको विज्ञापन बजारमा १३ अर्ब मात्र कारोबार हुनु र बाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नु पर्ने २० अर्बमा २ अर्बमात्र राजश्व संकलन हुने परम्पराको अन्त्यको लागि संघीय सरकार, प्रदेश र स्थानीय तहले साझा प्रयास गर्नु पर्ने बताए । विज्ञापन बजारको विकास र विस्तारका लागि कार्ययोजना तयार गर्न समेत मन्त्री गुरुङले बोर्डलाई निर्देशन दिए ।

विज्ञापन बजारको बारेमा जानकारी गराउँदै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन (नियमन गर्ने) नियमावलीको पहिलो संशोधनबाट विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण हुने बताए ।

उनले सञ्चार माध्यमको बिलको प्रतिलिपि राखेरमात्र विज्ञापनको रकम भुक्तानी गर्न पाउने व्यवस्था कानूनमा गरिएको जानकारी गराए । विज्ञापन एजेन्सीको सेवा शुल्क पारदर्शी बनाउन यस्तो व्यवस्था गरीएको बोर्डका अध्यक्ष हुमागाईंले बताए ।

बाह्य विज्ञापन (होर्डिंङ्ग बोर्ड) तर्फ राजश्व संकलन स्थानीय तहबाटै गराउन कानूनको निर्माण भइरहेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहसंग बोर्डले समन्वय गरिरहेको अध्यक्ष हुमागाईले जानकारी गराए ।

सामाजिक सञ्‍जालमा हुने विज्ञापनको नियमनको लागि कानूनको मस्यौदा तयार गरिएको जानकारी गराउँदै अध्यक्ष हुमागाईंले त्यसकालागि विज्ञापन (नियमन गर्ने) ऐनमै संशोधन आवश्यक भएको बताए ।

चलचित्र घर, नाट्यशाला, मेला महोत्सवमा हुने विज्ञापनको नियमन स्थानीय तहबाटै गर्ने गरी कानून निर्माण भईरहेको जानकारी गराउँदै अध्यक्ष हुमागाईले निकट भविष्यमै प्रदेशहरुले प्रदेश निर्देशिका र स्थानीय तहले स्थानीय कानून निर्माण गरी तीनै तहका सरकारबाट विज्ञापनको नियमनको कार्य थालनि हुने जानकारी मन्त्री गुरुङलाई गराए ।

२०७८ सालमा गठन भएको विज्ञापन बोर्डले संघ, प्रदेश तथा स्थानीय तहमा हुने विज्ञापनको नियमनका लागि काम गरी गरिरहेको छ ।

२०७९ साल विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण आचारसंहिता निर्माण गरी कार्यान्वयनमा ल्याएको छ भने स्थानीय तहका सार्वजनिक हित तथा जनहितका सूचनालाई स्थानीय सञ्‍चार माध्यमबाटै प्रकाशन तथा प्रसारणको ब्यवस्था मिलाउने तयारी गरीरहेको त्यस अवसरमा जानकारी गराईएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर