कृष्णपुरबासीमा रेलमार्ग फोबिया- रेलमार्गकाे सर्भे होइन भन्दाभन्दै गाडी जलाए – Nepal Press

कृष्णपुरबासीमा रेलमार्ग फोबिया- रेलमार्गकाे सर्भे होइन भन्दाभन्दै गाडी जलाए

चितवन । पूर्वपश्चिम रेलमार्ग अध्ययनका क्रममा भरतपुरको कृष्णपुर क्षेत्र हुँदै रेलमार्ग सर्भे भएपछि केही महिनाअघि यहाँका स्थानीयले आन्दोलन गरे ।

रेलमार्ग निर्माणको टुङ्गो नलाग्दै रेलमार्ग पीडित संघर्ष समिति बनाए । त्यति मात्रै होइन रेलमार्गको बाटो भरतपुरको ७, ८, ४ लगायतका वडाबाट लैजान नदिने भन्दै तत्कालीन प्रधानमन्त्री प्रचण्डसम्म ज्ञापन बुझाउन गए ।

भरतपुर महानगरपालिकाले त रेलमार्गको बाटो परिवर्तन गर्न अनुरोध गर्दै महानगरपालिकामा नै रेल विभागका प्रमुखलाई चितवन नै ल्याएर स्थानीयबासीसँग नै अन्तरक्रिया पनि गरायो ।

महानगरप्रमुख रेनु दाहालले रेलमार्ग बस्ती बीचबाट लैजान नदिने सार्वजनिक रूपमा प्रतिबद्धता समेत गरिन् । तर, अझै भरतपुरबासीमा रेलमार्गको डर मात्रै होइन रेलको कुरै सुन्न नचाहने र रेल मार्गको नाम मात्रै लिए आक्रामक हुने व्यवहार देखाउन थालेका छन् ।

आज बुधबार भरतपुर ७, कृष्णपुरमा भएको गाडीमा आगलागीको घटना पनि रेलमार्ग त्रास नै हो । तीन दिनदेखि दुई युवाहरू चितवनको भरतपुर आसपास गुगल म्यापको लागि रोड सर्भे गर्न भरतपुरमा थिए । उनीहरूकै अनुसार श्री आरएस इन्जिनियरिङ सोलुसन प्रा.लि. काठमाडौँबाट चितवन आएका थिए ।

बागमती प्रदेश ०१-०३० च ७१९० नम्बरको कारमा बुधवार भरतपुरको कृष्णपुर क्षेत्रमा गुगल म्यापको लागि आफूहरूले रोड सर्भे गरिरहेको अवस्थामा केही मानिसहरू, रेल सर्भे गर्न दिँदैनौँ भन्दै आए ।

एक जना चालक र अर्का एक २१ वर्षका रोड सर्भे गर्ने नेभिगेटर युवक गाडीमा थिए । उनीहरूले स्थानीयका कुरा बुझेनन् । तर, आफूहरू रेलमार्गका मान्छे नभएका पटक पटक बताए । करिब १ बजेको समयमा स्थानीयले उनीहरूको गाडी कब्जामा लिए ।

रेलमार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालसहितको टोलीले सर्भे गरिरहेका उनीहरूलाई रोकेका थिए ।

नेपालले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘हामीले केको लागि आएको भनेर सोधेका थियौँ । उनीहरूले रेलमार्गको होइन भने । त्यसपछि कागज देखाउनु भनेको देखाएनन् ।’

बिस्तारै रेलमार्गको सर्भे भन्दै विरोध गर्ने स्थानीयको भीड बढ्दै गयो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मानिसको भीड बढ्दै गएर करिब ९० जनाको समूहमा पुगेका थिए ।

कारमा सर्भेमा नेभिगेटरको काम गर्ने बारा जिल्ला जितपुर सिमरा घर भएका २१ वर्षका अजित बस्नेत र धादिङ को गल्छी गाउँपालिका ८ का ३५ वर्षका कार चालक दिलीप तामाङ थिए ।

दुवैजनालाई नियन्त्रणमा लिएर ५० मिटरको दुरीमा रहेको कृष्णपुर नगरप्लटिङको प्रहरी बिटमा बुझाएको संघर्ष समितिका सचिव नेपालले बताए ।

त्यसपछि आफ्नो नियन्त्रणमा रहेको गाडी अघि बढ्न नदिने भन्दै स्थानीयको टोलीले केही बेर नाराबाजी गरे । नाराबाजी र आक्रोश बढाउँदै रेल मार्ग बढाउन दिँदैनौ भन्नेको भीड बढ्दै गयो । अन्त्यमा उनीहरूले कारमा आगजनी गरेर पूर्ण रूपमा क्षति गराए ।

चितवनका प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नियन्त्रणमा लिएको करिब एक घण्टापछि उनीहरूले गाडी जलाएका थिए । सर्भेमा आएका तामाङ र बस्नेत दुवैजनालाई प्रहरीले सुरक्षित राखेको छ ।

उनीहरू दुवैजनाले नेपाल प्रेससँग कुरा गर्दै रेलमार्गको बारेमा केही थाहा नभएको बताए । आफूहरूले गुगल म्याप अपग्रेड गर्न रोडको लोकेशन सर्भे गर्दै तीन दिनदेखि चितवनमा रहेको चालक तामाङले बताए ।

उनले भने, ‘हामीले रेल मार्गका होइनौँ भन्दाभन्दै गाडी, चापी लिएर हामीलाई प्रहरीकोमा पठाइदिनुभयो । हामीलाई गाडीमा आगो लगाएको थाहा छैन । राेड सर्भे गर्ने क्यामरा कागजपत्र पनि त्यही गाडीमा थियो ।’


प्रतिक्रिया

One thought on “कृष्णपुरबासीमा रेलमार्ग फोबिया- रेलमार्गकाे सर्भे होइन भन्दाभन्दै गाडी जलाए

  1. रवि जस्तो ठगलाई जिताउने ठाउँका मुन्छे परे। गूगल म्याप सर्वे र रेलवे सर्वे छुट्टयाउन सक्ने खुबी हुँदो हो त सहकारी ठग लाई जित्न दिन्थे होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *