प्रचण्डले लिए जम्कट्टेल नेतृत्वको सरकारको रिपोर्ट, अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निष्कर्ष
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्रीसहित पार्टीबाट सरकारमा गएका मन्त्रीहरूसँग छलफल गरेका छन् । खुमलटार बोलाएर मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितका सरकारको जिम्मेवारीमा रहेका मन्त्रीहरूको कामको रिपोर्ट लिएका हुन् ।
कांग्रेस–एमाले मिलेपछि मुख्यमन्त्री जमरकट्टेल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । उनले केन्द्रमा प्रचण्डले झै स्पष्ट अल्पमतमा हुँदा पनि ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
गत निर्वाचनबाट पार्टीले प्राप्त गरेको जनादेश भन्दाबढी जिम्मेवारी लिएर राजनीतिक रुपमा पार्टी अध्यक्ष नेतृत्वको केन्द्रीय सरकारको नेतृत्व गर्दा महत्वपूर्ण काम गरेको निष्कर्ष निकालेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
सरकारले सुशासन, सामाजिक न्याय, विकास र जनसेवाका क्षेत्रमा गरेका कामहरु महत्वपूर्ण मात्र गरेकाले अबका सरकारका लागि चुनौतीका पहाड बनेर रहने बताए ।
परिवर्तन विकास सामाजिक न्यायमा माओवादी योगदान सधैं रहिरहने उल्लेख गर्दै सरकार बाहिरबाट पनि जिम्मेवार र जवाफदेही प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्ने बताए ।
उनले भनेका छन्, ‘देश विकास सुशासन र जनविश्वासका चुनौती अझै विद्यमान छन्, ति चुनौतीको आत्मसात गरेर जनताका मुद्दाहरु सम्बोधन गर्न उत्तिकै जिम्मेवार भएर हाम्रो पार्टी लागिरहनेछ ।’