जनकपुरमा मुस्लिम समुदायले मनाए मोहर्रम पर्व (तस्बिरहरु)
जनकपुरधाम । मुस्लिम समुदायले तलवार, खुकुरी र लाठी प्रदर्शन गर्दै जनकपुरधाममा मोहर्रम पर्व मनाएका छन् ।
मुस्लिम समुदायले बाजागाजासहित मस्जिदको स्वरुप कागज र बाँसले बनाएको रंगीन ताजिया (दाहा) जनकपुरधामको बजार परिक्रमा गरे । सो क्रममा मुस्लिम यूवाहरु तलवार, खुकुरी र लाठी प्रदर्शन गरेका हुन् । उनीहरुको दाहा जुलुसमा महिलाहरु समेत ससभागी थिइन् ।
जुलुस भानुचोक पुग्दा रोकिए । त्यहाँ यूवाहरु घेरा बनाए । त्यसमा दुई यूवा लाठी खेल्न थाले । लगत्तै घेराको बीचमा दुई खुकुरी राखे । खुकुरी देखेपछि सुरक्षाकर्मीले के गर्न खोजेको भन्दै रोक्ने प्रयास गरे । तर मुस्लिम यूवाहरु प्रहरीलाई टेरेनन् ।
अर्का दुई यूवा खुखुरी उठाए र एक अर्कालाई ताके । खुकुरी यति तीव्र गतिमा नचाए कि हेर्न भेला भएकाहरु पनि डराए । एक मुस्लिम युवाले भने, ‘यो खेल हो । हामी खुकुरी, तलबार र लाठी रमाइलोका लागि प्रदर्शन गर्छौं ।’
स्थानीय प्रशासनले घरेलु हातहतियार प्रदर्शन नगरी मोहर्रम पर्व मनाउन मुस्लिम समुदायलाई निर्देशन दिएको थियो । मुस्लिम युवाहरु भने प्रशासनलाई चुनौती दिँदै घरेलु हतियार प्रदर्शन गरेका छन् ।
‘मोहर्रम’ इस्लामिक क्यालेन्डरको पहिलो महिनाको नाम हो । यो महिनाबाटै इस्लामको नयाँ वर्ष सुरु हुन्छ । मोहर्रम महिनामा, इस्लाम धर्मको संस्थापक हजरत मुहम्मद सल्लाल्लहु तला अलिस्लम साहबको कान्छा नाती, इमाम हुसेन र उनका साथिहरुलाई इराकको कर्बला शहरमा याजीदका फौजसँग लडिरहेको बेला शहीद भएका थिए ।
मुस्लिम धर्म संरक्षणका लागि शहीद भएकाहरुको सम्झनामा ति समुदायले ‘मोहर्रम’ पर्व मनाउँछन् । हिजरी संवत १ देखि १० तारिख सम्म मनाइने मोहर्रममा मुस्लिम समुदायले अल्लाहका दूतले सहादत प्राप्त गरेको दिनलाई स्मृति गर्दै दुःख मनाउ गर्छन् ।
ताजिया विर्सजन गर्ने बेला घर–घरबाट मस्जिदको स्वरुप कागजका रंगीन ताजिया बनाई बोकेर वस्तीबाट बस्तीबाट सडकमा निक्लिएर नारा जुलुस, बाजागाजासहित अल्लाहको नारा लगाउँदै महिला, बालबालिका र युवाहरु सडकमा निस्कन्छन् ।