त्रिशूलीमा हराएका ६५ जनाको शोक अध्ययन गर्न आएका टोलीले के-के गर्‍यो ? – Nepal Press

त्रिशूलीमा हराएका ६५ जनाको शोक अध्ययन गर्न आएका टोलीले के-के गर्‍यो ?

चितवन । सिमलतालमा ६५ जना यात्रु सवार दुई बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको बुधबार ६ दिन भयो । बुधबार बेलुकासम्म १९ जनाको शव खोजीमा लागेको प्रहरीसहितको टोलीले नारायणी किनारामा भेटेको छ ।

भेटिएकामध्ये १४ जनाको आफन्तले शव पहिचान गरेर लगेका छन् भने ३ जनाको शव अझै भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् । पीडितका आफन्त एक घटना भएकै दिनदेखि चितवनका नारायणी नदी किनारमा आफन्त भेटिन्छन् कि भनेर कुँदिरहेका छन् ।

लक्ष्मीनारायण रायका भिनाजू चन्द्रकिशोर राय उनका परिवारसहित बेपत्ता सालो खोज्न चितवन आएको ६ दिनै भइसक्यो । राय लक्ष्मीनारयाणको शव भएपनि भेटिन्छ कि भनेर भरतपुर अस्पतालमा ल्याइएको शव हरेक दिन हेर्न पुग्छन् । बुधबार दिउँसोसम्म १७ वटा भेटिएका लासमध्ये सबै हेरिसकेका छन् उनले । बुधबार पनि भने, ‘कम्तिमा लाश त भेटिन्छ कि भनेर यहाँ बसिरहेको छु ।’

चन्द्रकिशोर शव कुर्दा कुर्दा विह्वल थकित अवस्थामा बोलिरहँदा तिनै आफन्त जसका आफ्नो मान्छे भेटिएका छैनन् । भेटिएका पनि क्षतविक्षत अवस्था भइसक्यो उनीहरुको दुर्घटना हुनुको कारण खोज्न सरकारले गठन गरेको अध्ययन कार्यदलको टोली प्रमुख भने खादाको स्वागतसहित चितवन झरेका थिए ।

६ जनाको टोलीसहित बिहान हवाइजहाजबाट चितवन ओर्लिएका कार्यदलका सदस्य केहीबेर घटना भएको ठाउँ पुगे । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनको सभाहलमा जिल्लाका राजनीतिक दल, यातायात सम्बद्ध व्यक्तिहरु, पीडित आफन्तहरुका कुरा सुन्न बसेका अध्ययन कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजाललाई चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले खादा लगाइदिए ।

छलफलमा नै शोकको घडीमा अवस्था बुझ्न आएको कार्यदलका व्यक्तिलाई खादामा ठाँटिएर बसेकोमा जिल्लाका राजनीतिक दलका प्रतिनिधिले टिप्पणी पनि गरे । नेकपा एमाले चितवनका कार्यबाहक अध्यक्ष श्याम विष्टले, प्रविधि प्रयोग गरेर बेपत्ताहरु खोज्नुको साटो खादा लगाएर आउँदाको उपलब्धी के हुन्छ भनेर प्रश्न गरे ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले पनि बेपत्ताको खोजी जस्तो दुःखमा आउँदा खादा लगाएर स्वागत गर्नुको अर्थबारे कार्यदलका संयोजकलाई प्रश्न गरे ।

धेरै सहभागिको प्रश्नपछि गृह मन्त्रालयका सहसचिव तथा कार्यदल संयोजक छवि रिजालले चितवनका प्रमुख जिल्ला अधिकारी आफ्नो साथी पनि भएकोले स्वागत गर्नुभएको बताए । उनले पछि खादा खोलेर सिट पछाडि राखिदिए ।

छलफलमा बोल्ने अधिकांश व्यक्तिहरुले सडक दुर्घटनाका कार्यदल बनेर यसको प्रतिवेदन कार्यान्वयन हुनेमै शंका व्यक्त गरेका थिए । उनीहरुले सरकारले मृत्युलाई वर्गमा विभाजन गरेको समेत आरोप लगाएका थिए ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले राज्यले यति ठूलो दुर्घटनालाई राष्ट्रिय दुःखको रुपमा नलिएको पनि बताए । उनले आफूहरुले कार्यकर्तालाई १० घण्टा नदी किनार आसपास निगरानी गर्न लगाएको बताउँदै राज्य यस्तो ठूलो दुर्घटनामा संवेदनशील हुनुपर्ने बताए ।

कार्यदललाई सुझाव दिन सहभागि अधिकांशले घटनामा अझसम्म पनि हराइरहेका यात्रुको खोजीका लागि प्रविधि अझ राम्रो प्रयोग गर्न अनुरोध गरेका थिए । भने शक्तिखोरबाट मलेखु निस्किने सडक खण्डको स्तरोन्नति गरेर नारयाणगढ मुग्लिन सडकको विकल्प खोज्नुपर्ने बताएका थिए ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख इन्जिनियर रमेशप्रसाद पौडेलले पनि कार्यदलसँग नारायणगढ मुग्लिनको २० किलोमिटर क्षेत्र अति संवेदनशील भएकोले यस क्षेत्रको विकल्प खोज्नु नै उपयुक्त उपाय भएको बताएका थिए ।

उनले वर्षा अघि नै उक्त सडकका किनारा, कल्भटहरु सफा गरेपनि तारजाली, कल्भट समेत पार गरेर सडकमा नै गेगरसहितको पहिरो आइपुगेको बताएका थिए । सो क्षेत्रको भूगोल नै संवेदनशील भनेर यसअघि नै गैँडाकोटदेखि मुग्लिनसम्म ४० किलोमिटर वैकल्पिक मार्गको प्रस्ताव समेत सरकारलाई दिएको उनले बताए ।

छलफलपछि आफूहरुले घटनास्थल अध्ययन, पीडितका परिवार, सरोकारवाला तथा दुर्घटनामा बाँच्न सफल तीन जना यात्रुहरुसँग कुराकानी गरेर प्रतिवेदन तयार गरर्ने कार्यदल संयोजक रिजालले जानकारी दिए । उनले आफूहरुले अतिरिक्त सेवासुविधा पनि अध्ययनका लागि नलिएको सरोकारवालाहरुलाई स्पष्ट पारेका थिए । उनीहरु आजै अध्ययन सकेर काठमाडौँ फर्किएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *