फ्रान्सका सर्वाधिक गोलकर्ता जिरुडले लिए सन्न्यास
हेटौँडा । फ्रान्सको राष्ट्रिय टिमका स्ट्राइकर ओलिभिएर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । फ्रान्सको राष्ट्रिय फुटबल टोलीबाट खेलिरहेका ३७ वर्षीय जिरुडले सन्न्यास घोषणा गरेका हुन् ।
सन्न्यास विषयमा जानकारी दिँदै उनले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा लेखेका छन्, ‘डरलाग्दो क्षण आइपुगेको छ । त्यो हो फ्रान्सेली राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण ।’
इंग्लिस क्लब आर्सनल र चेल्सी तथा इटालियन क्लब एसी मिलानबाट खेलिसकेका उनले फ्रान्सबाट १ सय ३७ खेलमा ५७ गोल गरेका छन् । उनले सन् २०२२ मा फ्रान्सका पूर्वखेलाडी थिएरी हेनरीले राखेको कीर्तिमानलाई उछिनेर सर्वाधिक गोलकर्ता बनेका थिए ।
हेनरीको ५१ गोलको कीर्तिमानलाई तोडेर सर्वाधिक गोलकर्ता बनेका उनले लेखेका छन्, ‘फ्रान्सेली राष्ट्रिय टोलीसँगको मेरो करियर सधैँ सहज रहेन । मैले कहिलेकाहीँ शंका गरेको छु र आलोचना पनि भोगेको छु, तर मैले टोलीलाई विश्वास गर्न छाडिन । कडा परिश्रम, नम्रता र प्रार्थनाले मलाई कठिन समयमा मद्दत गरेको छ । मेरी श्रीमती र मेरा ४ छोराछोरीको अथक सहयोगको लागि धन्यवाद, मैले सधैँ लड्न र प्रत्येक पटक अझ बलियो भएर फर्कने शक्ति पाएको छु ।’
सर्वाधिक गोलकर्ता जिरुडले अब अमेरिकी मेजर लिग सकर क्लब एलए एफसीबाट व्यावसायिक फुटबल खेल्नेछन् ।