भोजपुरमा हेलिकप्टरबाट गाडी झारेको त्यो दिन – Nepal Press
ब्लग

भोजपुरमा हेलिकप्टरबाट गाडी झारेको त्यो दिन

भरिया र ढाकरको भरमा जीवन धानिरहेको भोजपुर र भोजपुरेको पीडा अहिले एकादेशको कथाजस्तो लाग्छ । सुनसरीको चतरा र धनकुटाको हिलेबाट भरियाको पिठ्यूँ चढेर आएका दैनिक उपभोग्य सामग्रीले भोजपुरमा चुल्हो बल्थ्यो ।

भोजपुरेलाई गाडी चढ्नको लागि दुई दिन कष्टपूर्ण पैदल यात्रा तय गरेर धनकुटाको हिले वा सुनसरीको चतरा पुग्नुपर्थ्यो । हामी सानै हुँदाबाटै बाउबाजेले समेत गाडी चढ्ने सपना सुनाइरहनुहुन्थ्यो । कैयौं रात आाँगनको डिलबाट धनकुटाको हिले-पाख्रिबासमा बलेको गाडीको बत्ती हेर्दा निदाउनै बिर्सिन्थ्यौं हामी । वास्तवमा यति चाँडै भोजपुरमा चिल्लो सडक बन्ने र गाडी गुड्छ भन्ने आशा र विश्वास मनको एकछेउमा पनि थिएन ।

भोजपुरेको गाडी चढ्ने सपना जिल्ला विकास समिति भोजपुरको अगुवाइमा पहल सुरू भएपछि आशाको सञ्चार भयो । बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) को सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप) ले धनकुटाको लेगुवादेखि भोजपुर सदरमुकामसम्म (६६ कीमी) र भोजपुर सदरमुकामदेखि दिक्तेल सिमाना चखेवा भन्ज्याङसम्म (४२ कीमी) र भोजपुर-घोडेटार सडक निर्माणको सम्झौता भयो ।

२०५९ मंसिरबाट २०६५ असार मासन्तसम्म माओवादी युद्ध उत्कर्षमा पुगेको बेला निकै चुनौतीको सामना गर्नुपर्‍यो । पटकपटक माओवादीका कार्यकर्ताहरूले सडक निर्माणमा संलग्न दातृ निकाय स्थानीय संस्थालाई चन्दा माग्ने र विभिन्न नाममा काममा अवरोध गर्दा पनि भोजपुरका राजनीतिक दल, नागरिक समाज, पत्रकारको सुझबुझपूर्ण संवादले सहज बनाइयो । सडक निर्माणका लागि प्राविधिक पक्षको सहजीकरणमा इन्जिनियरिङ कन्सल्टेन्सी र सामाजिक तथा अर्थिक पक्षको काममा लेगुवा-भोजपुरमा स्थानीय गैसस सामुहिक अभियान र भोजपुर-चिहानडाडाँका लागि लागि हिहल्ड-सेतो गुराँसले सहजीकरणको जिम्मा पाएको थियो ।

हरित सडकको अवधारणामा ट्रयाक खोलिएको यो सडकमा कहिँ पनि मेसिनरी प्रयोग गरिएन । जसका कारण अहिले पनि छिटपुटबाहेक बाढी/पहिरोजस्ता विपद्‍बाट सडकमा क्षति पुगेको छैन । आर्थिक रूपमा कमजोर स्थानीयको समूह बनाइ कुटो, कोदालो, गैँती र बेल्चाको भरमा खनिएको सडकले विकासमात्र ल्याएन सडक आसपासका हजारौं परिवारको जीवीकोपार्जनको टेवासँगै सामाजिक र आर्थिकरूपमा सशक्त भएका छन् । सडकले यातायातका साधनमात्र आउँदैन, योसँगै आउने लागुऔषध दुर्वसनी, चोरीडकैती, चेलिबेटी बेचबिखनजस्ता विकृतिलाई न्यूनीकरण गर्न ती समूहमार्फत् चेतना जागृत गराइएको थियो ।

तराई र राजधानीबाट आएका गाडी रित्तै नफर्काउन उनीहरूलाई कृषि/पशुपालनलगायत उत्पादनसँग जोडिएको थियो । आत्मनिर्भर बनाउन आयमूलक र सिपमूलक क्रियाकलाप सञ्चालन गरिएको थियो । गाडी चढ्ने हैसियतमा पुर्‍याउन आर्थिक उपार्जनका गतिविधिमा जोड दिइएको थियो ।

५ वर्षमा जसोजसो ट्रयाक त खुल्यो । तर, अरुण नदीमा पुल नबनेसम्म गाडीको सपना पूरा हुने कुरामा जनतामा सधैँ निरासा छाइरह्यो । कमसेकम जिल्लाबासीलाई आशा जगाउन भएपनि केही जमर्को गर्नुपर्छ भनेर हामीले अगुवाइ गर्ने निर्णय गर्‍यौं । मेरो अध्यक्षतामा उदिम राई, सुनिल राई, डम्बर श्रेष्ठलगायतमा साथी मिलेर भोजपुरमा जसरी पनि एउटा गाडी झार्ने निर्णयमा पुग्यौं । विराटनगरस्थित महेन्द्र गाडीको डिलरमा जीप बुक गर जीप बुक गरियो । तर, त्यो गाडी भोजपुरमा टेकाउन हेलिकप्टरबाहेक अर्को विकल्प थिएन ।

त्यसपछि काठमाडौंमा कृपाशुर शेर्पा दाइलाई भेटेर सुवास नेम्वाङ (तत्कालीन संविधानसभा अध्यक्ष) मार्फत् सेनालाई हेलिकप्टरका लागि अनुरोध गरियो । सहकारी संस्थाको स्वामित्वमा गाडी लैजाँदा मात्र सेनाले सहयोग गर्ने नीति थाहा पाएपछि मेरै अध्यक्षतामा हिमालय बचत तथा ऋण सहकारी संस्था दर्ता गरी सबै कागजातसहित नेपाली सेनामा अनुरोधपत्र शुझाएपश्चात स्वीकृत भयो ।

तस्बिर : ध्रुव सुवेदी ।

२०६५ असार २६ गते धनकुटा हिलेस्थित नेपाली सेनाको बाहिनीबाट सेनाको हेलीमा बोकेर भोजपुर सदरमुकामको टुँडिखेलमा गाडी झारियो । बिहानदेखि टुँडिखेलमा गाडी हेर्न आउने सयौंको भिड लागेको थियो । टुँडिखेलको डिलदेखि कारागारको पर्खाल अनि छेउको बरको रुखमा चढेका रमितेहरूका लागि केबल त्यो रमितमात्र थिएन उनीहरूको आँखामा भोजपुर र आफ्नो भविष्यको सपना पनि झलझली देखिन्थ्यो । हेलीबाट झारेको गाडीमा टुँडिखेल वरपर घुम्दा उनीहरूको खुसीको सीमा नै थिएन । जिल्लामा गाडी भित्र्याउन विशेष पहल गरिदिने सुवास नेम्वाड र हेलिकप्टर लिएर आउने पाइलट कर्णेल कैलाश गुरुड अहिले हामीमाझ हुनुहुन्न ।

हेलिकप्टरबाट झारिएको त्यो गाडीले सुरूमा सदरमुकाम आसपास एयरपोर्ट, दावाँ बजारसम्म सेवा दिएका थियौं । पैसा कमाउने भन्दा पनि विशुद्ध सामाजिक काम र नागरिकमा आशा भर्नु नै हाम्रो टीमको ठूलो उद्देश्य थियो । त्यसपछि ट्याक्टरका पार्टपूर्जा खोलेर भरियामार्फत् लेगुवाको झोलुङ्गे पुल तारेर वारी ल्याई पल्टी गरेर दैनिक उपभोग्य सामान बोक्न थालियो । यसले नागरिकलाई समेत राहत भयो ।

टयाक्टरहरू भित्रिने क्रम बढ्यो । धनकुटाबाट लेगुवा हुँदै टयाक्टरमा हिँडन थालेपछि महिन्द्र सान टयाक्टरलाई मोडिफाई गरेर गणेश थापा शालिक राम लुईटेल र राजकुमार राई यात्रुवाहक गाडि बनाएर मान्छे बोक्न थाले पछि विस्तारै भोजपुरमा यातायतको साधनहरु भित्रिन थाले ।

भोजपुरेले कुटे कोदालोको भरमा खोलेको ट्रयाक नै आज मध्यपहाडी पुष्पलाल लोकमार्ग बनेको छ । दिक्तेल हुँदै राजधानी काठमाडौं ओहोरदोहोर गर्ने छोटो रुटको बाटो यही बनेको छ । समयक्रमसँगै आरामदायी बसहरू चल्न थालेका छन् । ईभीहरू भित्रिएका छन् । कालोपत्रेसँगै भोजपुरबाट धरान, इटहरी, विराटनगरलगायत तराई आवतजावतमा सहज भएको छ । विकासको मियो मानिने सडक यातायातले पक्की घर र टीनको छानोले बस्ती भरिएको छ । जिल्लाका उत्पादनले भाउ पाएको छ । नागरिकको दैनिकी फेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *