प्रधानमन्त्री ओलीलाई यसरी जुट्दैछ दुई तिहाइ समर्थन – Nepal Press

प्रधानमन्त्री ओलीलाई यसरी जुट्दैछ दुई तिहाइ समर्थन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा दुई तिहाइ समर्थन जुटाउन साना दलहरुसँग पनि छलफल थालेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर गत आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

अहिले ओली नेतृत्वको सरकारमा कांग्रेस एमालेसहित, अशोक राइ नेतृत्वको जसपा र लोसपा पनि सहभागी छ । विश्वासको मत लिनुअघि साना दलहरुसँग पनि छलफल हुने मुख्य सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘सरकारमा भएकाबाहेक अन्य दलसँग विश्वासको मत लिनुअघि छलफल गर्छौं । जनमत, जसपा नेपालले विश्वासको मत दिनुहुन्छ । राप्रपासँग पनि अपेक्षा गरेका छौं । हामी छलफल गर्छौ ।’

त्यसो त माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेमकिपा र जनमोर्चाबाहेक अरु दल कांग्रेस एमाले गठबन्धनको सरकारप्रति सकारात्मक छन् ।’

सरकारमा सहभागी कांग्रेसका ८८, एमालेका ७७, जसपा ७ र लोसपा चार गरेर १७६ सांसदको विश्वासको मत पाउने निश्चित छ । तर, दुई तिहाइ बहुमत जुटाउनको लागि १८४ सांसदको समर्थन आवश्यक छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमतबाट विश्वासको मत पाउने मुख्य सचेतक बर्तौँलाले बताए । नाउपाले पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन । तर, अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता रेशम चौधरीको विवादमा फसेको छ ।

यद्यपी, नाउपाले विश्वासको मत नदिएपनि ५ सांसद भएको जसपा नेपाल र ६ सांसद भएको जनमतले विश्वासको मत दिँदा ओलीलाई विश्वासको मत दिँदा दुई तिहाइ पुग्छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा सरकारमा सहभागी बाहेक जनमत र जसपा नेपालले विश्वासको मत दिँदा १८७ सांसदको समर्थन पाउँछन् । यो भनेको प्रधानमन्त्री ओलीलाई दुई तिहाइको लागि पर्याप्त गणित हो ।

जसपा नेपालका सांसद प्रकाश अधिकारीले आफूहरुले सरकारलाई विश्वासको मत दिने बताए । उनले भने, ‘हामी अहिले सरकारमा गएका छैनौं । तर, सरकारबाहिरै भएपनि विश्वासको मत दिन्छौं ।’

त्यसो त यही गठबन्धनको बलमा मधेश सरकार टिकाएको जनमतले पनि विश्वासको मत दिने निश्चित छ । मधेश सरकारको नेतृत्व नै प्राथमिकता रहेकाले केन्द्र सरकारमा नगएपनि आफ्नो समर्थन रहेको जनमतका प्रवक्ता डा. शरद यादवले बताएका थिए ।

यसबाहेक १४ सांसद भएको राप्रपा पनि सरकारले संविधान संशोधनको मुद्दा अघि सारेपछि सकारात्मक छ । त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरिरहेका छन् । राप्रपाको प्रवक्ता मोहन श्रेष्ठले विश्वासको मत दिने नदिने भन्ने बिषयमा छलफल भइरहेको बताए ।

उनले भने, ‘हामी छलफलमा छौं । अहिलेसम्म कुनै निर्णय भएको छैन । समय बाँकी छ । हाम्रो चासो सरकार होइन, संविधान संशोधनको कुरा हो ।’उनले कांग्रेस एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक नभएको बताए ।

उनले थपे, ‘त्यो सहमति अझै बाहिर आएको छैन । अब सत्तारुढ दलहरुले कसरी लिन्छन्, त्यही अनुसार निर्णय पार्टीले गर्छ ।’

विपक्षमा माओवादी ३२, रास्वपाका २१, नेकपा एसको १०, आजपा, नेमकिपा र जनमोर्चाका एक/एक सांसद विपक्षमा रहने देखिन्छन् । यसबाहेक स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह र योगेन्द्र मण्डल पनि खुलेका छैनन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री ओलीलाई यसरी जुट्दैछ दुई तिहाइ समर्थन

  1. एमाले माओवादी कांग्रेस ठुलो माछा भनेको यही तीनटा पार्टीको भित्र छ।
    गु खाको अनि यो तीनटै पार्टीलाई भोट दिएको एउटै हो।
    अनि नम्बर दुईमा मधेसी पार्टीलाई यिनीहरूलाई पनि भोट दिनु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर