हामी फोटो टाँस्नमात्र आएका होइनौं, नागरिकको निराशालाई चिर्नेछौं : उपप्रधानमन्त्री पौडेल (भिडिओ)
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरू फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटघाटमा पौडेलले आफूहरू सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचीमा अर्को फोटो टाँस्नका लागि मात्रै सहभागी नबनेको जिकिर गरे ।
अहिले देश साँच्चै नै अप्ठ्यारो स्थितिमा रहेको भन्दै उनले अहिलेको देशको स्थितिलाई महसुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताए ।
उनले भने, ‘देश साँच्चै अफ्ठ्यारो स्थितिमा छ । यो स्थितिको सामना कसरी गर्ने ? हेरेर बस्ने कि समाधानका लागि अघि बढ्ने भन्दा हामी अघि बढ्ने सोचेर आयौँ । मुख्य ठूला पार्टी मिलेर सरकार बनाउनु हुँदैन स्वेच्छाचारी हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, निरंकुशता बढ्छ जस्ता तर्क पनि गरिएका छन् । हामी मेजर पार्टीहरू बेलाबेलामा मिलेका छौँ र बेला बेलामा प्रतिष्पर्धा गरेका छौँ । सँगै सरकार र सरकार र प्रतिपक्ष भएर बसेका छौँ । अहिले परिस्थितिले के माग गरेको छ भने मेजर पार्टी नमिले टुटेको मनोबल उठाउनै गाह्रो हुन्छ भनेर मिलेका छौँ ।’