रामेछापबाट तस्करी गरेर सुनसरी पुर्याइएको ४ ट्रक खयर बरामद, संगठित मिलेमतोको आशंका
सुनसरी । रामेछापबाट सिन्धुली हुँदै चार ट्रक खयर तस्करी गरेर सुनसरी ल्याइएको खुलेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार सम्बन्धित जिल्लाबाट ट्रकलाई छोडपुर्जी दिँदा परिमाणमा कैफियत पाइएपछि अनुसन्धान थालिएको थियो ।
खयरको काठ धरानमा रहेको सूर्य कत्था उद्योगको नाममा काठ लोड गरी ल्याइएको थियो । छानबिनका क्रममा अवैध काठ धेरै भेटिएको बताउँदै प्रजिअ तिवारीले टाँचा लगाएको भन्दा ठूलो संख्यामा काठका मुडा भेटिनुले संगठित मिलेमतोको सम्भावना बताए ।
सुनसरी प्रशासनका अनुसार नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भनी छोडपुर्जी दिइएको थियो । अनुसन्धानको क्रममा गणना गर्दा भने २ हजार ७ सय ३३ वटा भेटिएको थियो ।
उक्त परिमाणका काठ बा.प्र. ०१००६ ख २१११, बा.प्र. ०१००६ ख ३३४९, म.प्र. ०३००२ ख ००९५ र क.प्र. ०२००१ ख ०४१९ नम्बरका ट्रकमा रामेछापबाट लोड गरी सुनसरी ल्याइएको हो । काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका छ ।
स्रोतका अनुसार खयर काठ बोकेका ट्रक इनरुवा आइपुगेपछि प्रशासनले रोक्न भनेको थियो । यद्यपि धरान पुगेपछि मात्रै प्रशासनलाई खबर दिइएको थियो ।