मकवानपुरमा स्थानीय तहको बदमासी- लाखौंको सामान सेटिङमा खरिद, महालेखाले देखायो कैफियत – Nepal Press

मकवानपुरमा स्थानीय तहको बदमासी- लाखौंको सामान सेटिङमा खरिद, महालेखाले देखायो कैफियत

हेटौंडा । मकवानपुरका केही स्थानीय तहले टेण्डरमार्फत खरिद गर्नुपर्ने सामान स्थानीय बिक्रेताहरुको सेटिङमा सोझै खरीद गरी अनियमितता गरेको पाइएको छ ।

कम्प्युटर, इलोक्ट्रोनिक्स, स्टेस्नरी तथा फर्निचरका सामान जनप्रतिनिधि, कर्मचारी र व्यापारीको मिलेमतोमा सोझै कोटेशनबाट खरिद गर्ने गरेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको हो । टेण्डरमार्फत खरिद गर्नुपर्ने कार्यालयका सामान कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा सोझै खरिद गरिएको हालै सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

१० लाखभन्दा धेरै मूल्यका सामान खरिद गर्दा टेण्डर गर्नुपर्ने कानूनी व्यवस्था हुँदा पनि उनीहरूले ५० लाखभन्दा बढीका सामान टुक्रा टुक्रा पारेर कोटेसन खरिद गरेको भेटिएको हो ।

यो कार्यमा सबैभन्दा अगाडि पूर्वी मकवानपुरको बागमती गाउँपालिका । बागमतीले ५० लाख २५ हजार १०४ रुपैयाँको बिभीन्न सामाग्री टेन्डर विना सोझै खरिद गरेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९-०८० मा कार्यालयका लागि चाहिने सामान सोझै खरिद गरेको भेटिएको हो । बागमतीले हेटौंडामा रहेको केही सप्लायर्स मार्फत सेटिङको आधारमा सामन खरिद गरेको देखिएको छ ।

यो सूचीमा पूर्वी मकवानपुरकै बकैया गाउँपालिका पनि परेको छ । बकैयाले पनि ५० लाख रूपैयाँभन्दा धेरै रूपैयाँको सामग्रीविना टेन्डर खरिद गरिएको छ । पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पनि बागमती र बकैयाको जस्तै टेन्डर नै नगरी सामान खरिद गरेको पाइएको छ ।

राक्सिराङ गाउँपालिकाले सञ्चालन गरेको सवारीका साधन मर्मतमा एउटै कम्पनीलाई पटक-पटक दिएर कानून विपरीत काम गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी गाउँपालिकाले सोलार खरिद गर्ने काम र स्टेशनरीका सामान खरिद गर्ने काममा पनि एउटै पसलबाट पटक-पटक खरिद गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा सेटिङका आधारमा मात्र सामान खरिद गरिएको देखिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *