महासमितिका प्रस्ताव ५ महिनापछि परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्दै कांग्रेस – Nepal Press

महासमितिका प्रस्ताव ५ महिनापछि परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले गत फागुनको पहिलो साता भएको महासमितिको बैठकमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने भएको छ । साउन २३ गते दिउँसो १ बजे मुख्यालय सानेपामा बस्ने बैठकले महासमिति बैठकमा पेश भएका प्रस्तावलाई पारित गर्न लागेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थित हुनेछन् । तर, बैठकको सबै एजेण्डा अहिले नै नटुंगिएको उनले बताए ।

उनले बैठकको प्रमुख एजेण्डा महासमिति बैठकमा पेश गरेका प्रस्तावहरुलाई परिमार्जनसहित पारित गर्ने रहेको बताए ।

पौडेलले भने, ‘महासमिति बैठकमा पेस भएको प्रतिवेदनमाथि साथीहरूले दिएको सुझाव विश्लेषण गरेर संशोधन गर्ने टीम बनाएको छ । त्यो टीमले सबै साथीहरूको भावनालाई उतारेको छ । सुझावलाई समेटेर पूर्णता दिने काम हुँदैछ ।’

प्रस्तावमा आएको सुझावलाई टुंग्याउन बनाइएको टीमले नेताहरूसँग छलफल गरेपछि मात्रै सबै विषय टुंगिने बताए ।

उनले थपे, ‘करिब २४ सय सहभागीबाट एउटै विषय आउँदैन । त्यसमा हाम्रो लोकतान्त्रिक पार्टी । त्यो टीमले नेताहरूलाई सबै पेश भएका सुझाव संकलन गरेर छलफल गर्छ । शीर्ष नेताहरूसँग छलफलपछि केन्द्रीय समितिमा पेश गरेर परिमार्जनसहित पारित गर्छ ।’

फागुन १० मा सकिएको महासमिति बैठक उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन बैठकले सर्वसम्मत पारित गरेको थियो । तर, त्यसलाई केन्द्रीय समितिले पूर्णता दिनेछ ।

कांग्रेस महासमितिको बैठकपछि सत्ता परिवर्तनको खेलमा लागेकै कारणले अहिलेसम्म यी प्रस्तावहरू अलपत्र परेका थिए । यो बैठकमा उठेका प्रस्तावहरूलाई देखाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेका मिलेका थिए ।

तर, अहिले कांग्रेसले ओलीसँग काँध मिलाएर प्रचण्डलाई सत्ता बाहिर बढाएर बदला लिइसकेको छ । दुई ठूला दलहरुबीचको सहमतिमा अहिले एमाले अध्यक्ष ओली प्रधानमन्त्री छन् भने १० महत्वपूर्ण मन्त्रालय लिएर कांग्रेस सत्तामा फर्किसकेको छ ।

यस्तै, बैठकमा भ्रातृ संगठनहरूको अधिवेशन, पार्टीको आन्तरिक संगठनलाई सुदृण, पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर