संघीय अस्पताललाई तत्काल विस्तारित सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पताललाई विस्तारित सेवा सुरु गर्न निर्देशन दिएको छ ।
शुक्रवार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ठूला संघीय अस्पतालले तत्कालै विस्तारित सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
विस्तारित सेवा सुरु गरेर मन्त्रालयलाई जानकारी दिन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएका छ, ‘विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालले विस्तारित अस्पताल सेवा कार्यक्रमसम्बन्धी कार्यविधि, २०७७ बमोजिम सेवा यथाशीघ्र सुरु गर्न गराउनुहुन र सो सेवा सञ्चालन गरेपश्चात् मन्त्रालयलाई जानकारी गराउन हुन अनुरोध छ ।’
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने दाबी गरेका थिए ।
पौडेलले महिना दिनभित्र लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेकै बेला विस्तारित अस्पताल सेवा कार्यक्रम लागू गर्नका लागि मन्त्रालयले निर्देशन दिएको हो ।