प्रधानमन्त्रीलाई एमालेको सुझाव- भ्रष्टाचार अन्त्य गरेर जनतामा भरोसा जगाउन सक्नुपर्छ
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दक्षिणपन्थी र प्रतिगमनकारी कित्ताबाट उठेका व्यवस्था परिवर्तनको मागहरू र उग्र जातिवाद र क्षेत्रीयतावादको चुनौतीलाई चिर्ने आवश्यकताबारे ध्यानाकर्षण गराएको छ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई महासचिव शंकर पोखरेलले देशमा देखिएको चुनौती चिर्न सक्ने कदम चाल्न सुझाएका हुन्।
उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वले यो सुझाव पत्र तयार पारेको थियो।
सुझाव पत्रमा भनिएको छ, ‘धनी र गरिबहरू बीचको खाडल फराकिलो हुनु, सही ढंगले व्यवस्थापन नभएको खुला सीमा, प्राकृतिक विपत्ति, प्राकृतिक श्रोत साधनको उपयोग सम्बन्धित विवाद, भ्रष्टाचार र कुशासनका कारण सिर्जित जनअसन्तुष्टि, जलवायु परिवर्तनको असर, भूराजनीतिक अवस्थिति र परराष्ट्र सम्बन्धका अस्थिर पक्षद्वारा सिर्जित राष्ट्रिय सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै यी चुनौतीलाई चिर्न, परराष्ट्र सम्बन्धमा छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राख्न र देशको परराष्ट्र नीति र कूटनीति सञ्चालनमा राष्ट्रिय सहमतिको निर्माण गर्नुपर्छ।’
सरकारले आफूहरूले दिएको सुझाव अध्ययन र कार्यान्वयनले जनतामा आशा र भरोसा जगाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको उपमहासचिव ज्ञवालीले बताए।