कञ्चनपुरमा बाढी र कटान रोक्न सांसद तामाङले गराए उपप्रधान तथा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण
कैलाली । कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद तारालामा तामाङले जिल्लाको बाढी र कटान रोक्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेको ध्यानाकर्षण गराएका छन् । उनले अर्थ मन्त्रालयमा एक माग पत्र बुझाउँदै अर्थमन्त्री पौडेललाई जिल्लाको दिगो समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका हुन् ।
यहाँको दोदा, चौधर र महाकाली नदीहरू लगायतका अन्य नदीहरुले बर्सातको समयमा कञ्चनपुरका दर्जनौँ बस्तीहरू प्रभावित हुने गरेको छ । असार २२ देखि २४ सम्मको मनसुनको कारण कञ्चनपुरमा मात्रै चार जनाको मृत्यु भएको छ । यहाँका सयौँ बिघा खेतीयोग्य जग्गा बगरमा परिणत भएका छन् भने सयौँ घरहरूमा क्षति पुगेको छ ।
तामाङले अर्थमन्त्री पौडेललाई फेरि यस्तो नियति नदोहोरिन भन्दै तत्काल उपयुक्त व्यवस्था गर्न माग गरेका छन् । उनले चौधर नदी मा गुरुयोजना अनुसारको पक्की तटबन्ध निर्माण गर्न माग गरेका छन् ।
बेलडाँडी र बेलौरीको क्षेत्रको खेती योग्य जमिन १२ महिना सिमसार हुने भएकाले यो क्षेत्रमा गुरुयोजना बनाई समस्या समाधानको लागि आवश्यक बजेट विनियोजन गर्न, दोदा नदी मा विस्तृत गुरुयोजना बनाई पक्की बाँध तटबन्ध सहित बहुपयोगी योजना बनाउन माग गरेका छन् । उक्त योजनाले कृष्णपुर ,लालझाडी,बेलौरी र पुनर्वासमाका हजारौँ लाभान्वित हुने उनको ठहर छ ।
बोर्डर करिडोर सडक (बीचफाँटा पुनर्वास,गोविन्द बजार बेलौरी छोटी भन्सार, बैवाह हुँदै झिलमिला सम्म) र बेलौरी भन्सार सिमा देखि बेलौरी बजार हुँदै कलुवापुरसम्म सडक स्तरोन्नति गर्न सांसद तामाङले माग गरेका हुन् ।
सांसद तामाङको माग पत्र बुझ्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफू समस्याको समाधान गर्न लाग्ने बताए ।
यस अघि पनि सांसद तामाङले प्रतिनिधि सभा बैठकका कञ्चनपुरको बाढीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।