खराब फर्मबाट निस्कँदै सम्झनाको सम्झनलायक ब्याटिङ
काठमाडौं । लगातार ६ खेलमा रनविहीन यात्रा । त्यसमध्ये तीनपटक ब्याटिङको पालै नपाउनु र पालो पाएका तीन खेलमा शुन्यमै आउट हुनु । गत नोभेम्बरमा हङकङविरुद्ध खेल्दै सम्झना खड्काले उक्त खराब प्रदर्शनको क्रम भंग गरिन् तर केवल एक रन जोडेर ।
फेब्रुअरीमा नेपालले हङकङसँग नै खेलेको थियो तर सम्झनाको ब्याटिङको पालै आएन । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो खराब प्रदर्शनका बाबजुत पनि एसीसी वुमन्स एसिया कपमा सम्झनाको समावेश प्रश्नरहित थिएन ।
तर प्रशिक्षक मनोज कटवाल र कप्तान इन्दु बर्माले सम्झनामाथि विश्वास मारेनन् । बरु यसपटक उनलाई ओपनिङ ब्याटिङमा लैजाने निर्णय गरे । अघिल्ला खेलहरुमा उनी कहिले तेस्रो नम्बरमा त कहिले मध्यक्रममा ब्याटिङमा आउँथिन् ।
उनै सम्झनाको शानदार इनिङ्समा नेपालले शुक्रबार यूएईलाई हराएर एसिया कपमा ऐतिहासिक जित हात पार्यो । उनले एक सय १६ रनको लक्ष्य पछ्याउने क्रममा एक्लै अविजित ७२ रनको इनिङ खेलिन् जसमा ११ चौका समावेश थियाे । वुमन्स एसिया कपमा यसअघि नेपाली ब्याटरले अधिकतम १६ रनसम्म जोडेका थिए । यूएईविरुद्ध नेपालको इनिङ्स सम्झनाले एक्लैले सम्हालिन् ।
सम्झनाले सन् २०२३ को मेमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेकी हुन् । यसबीचमा उनले खेलेका १६ खेलमा ५ पटक ब्याटिङको पालो पाएकी थिइनन् । बाँकी ११ खेलमा दुईपटक दोहोरो अंकमा रन जोडेकी थिइन् ।
यूएईसँग खेल्नुअघि पछिल्ला १० टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ४ पटक ब्याटिङको पालो पाइनन् भने बाँकी ६ अवसरमा कुनैमा पनि दोहोरो अंक छुन सकेकी थिइनन् । यसबीचमा उनको सर्वाधिक रन नै २ थियो ।
यूएईविरुद्ध शानदार ब्याटिङ गरेपछि उनले भनिन्, ‘देशलाई गर्व हुने अवसर दिन सकेकोमा खुशी छु । सबैलाई धन्यवाद दिन चाहन्छु ।’ नेपाली टोलीकी कप्तान इन्दु बर्माले सम्झनालाई सफलताका लागि धन्यवाद दिइन् ।
‘कोच र क्याप्टेन मिलेर हामीलाई उनलाई ओपनिङमा पठाउने निर्णय गरेका थियौँ । उनले ओपनिङ ब्याटिङ राम्रो गर्न सक्छिन् भन्ने हाम्रो विश्वास थियो’, खेलपछि इन्दुले भनिन् ।
सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार कमजोर प्रदर्शन गरिरहेपनि सम्झनाका लागि गत मेमा आयोजित ललितपुर मेयर्स कपले राष्ट्रिय टोलीमा ठाउँ कायमै राखिदिएको थियो । सुदूरपश्चिम प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएकी उनले त्यस प्रतियोगितामा बागमतीविरुद्ध ७४ र कोशी प्रदेशविरुद्ध ५४ रनको शानदार इनिङ गरेकी थिइन् ।