काठमाडौं महानगरले दिने छात्रवृत्तिको प्रवेश परीक्षामा ९० प्रतिशत विद्यार्थी सहभागी
साढे ४ हजार विद्यार्थीलाई छात्रवृत्ति दिइने, २५ सय जनाले व्यवस्थापनमा छात्रवृत्ति पाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका विद्यालयमा कक्षा ११ मा अध्ययन गर्नका लागि लिइएको छात्रवृत्ति प्रवेश परीक्षामा ९० प्रतिशत विद्यार्थी सहभागि भएका छन् ।
शैक्षिक सत्र २०८१–०८२ मा प्राप्त हुने ४ हजार ६२९ विद्यार्थीका लागि छात्रवृत्ति कोटामध्ये ११ हजार ८७१ जना विद्यार्थीले आवेदन दिएकोमा ९०.०२ प्रतिशत विद्यार्थी प्रवेश परीक्षामा सहभागि भएका हुन् ।
सहभागि परीक्षार्थीमध्ये आचरण पालना नगर्ने २ जनाको परीक्षा रद्द भएको महानगरपालिकाले जनाएको छ । शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म दुई घण्टे छात्रवृत्ति प्रवेश परीक्षाका लागि ३८ वटा केन्द्र तोकिएका थिए ।
छात्रवृत्तिका लागि ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)का सचिवालय सल्लाहकार सस्मित पोखरेलका अनुसार प्रमाणित भएका आवेदनमध्ये विज्ञान विषयका लागि ८ हजार ४९७, व्यवस्थापन विषयका लागि २ हजार ५८१, कानुन विषयका लागि १५३, मानविकी विषयका लागि १३ र शिक्षा विषयका लागि ३७ जना विद्यार्थीले आवेदन दिएर परीक्षामा सहभागि भएका छन् ।
छात्रवृत्ति प्राप्त गर्ने योग्यता देखिने कागजपत्र प्राप्त नभएका आवेदन अस्वीकृत भएको र प्रवेश परीक्षको नतिजा आइतबार प्रकाशन गर्ने तयारी रहेको सचिवालय सल्लाहकार पोखरेलले जानकारी दिए ।
उनका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीले प्रवेश परीक्षा प्राप्त गर्दा जुन विधि अपनाएका थिए, त्यसै विधिबाट नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । महानगरपालिकाले समग्र योग्यताको सूची पनि प्रकाशन गर्नेछ ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिएका थिए ।
छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन महानगरपालिकाले गत असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो ।
महानगरपालिकाका अनुसार यो वर्ष सबै भन्दा धेरै अर्थात् २ हजार ४९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउनेछन् भने १ हजार ७५२ जनाले विज्ञान विषयमा, १७३ जनाले मानविकी विषयमा, १३६ जनाले कानुन विषयमा र ७० जनाले मात्रै शिक्षा विषयमा छात्रवृत्ति पाउनेछन् ।
विद्यालयमा गएको वर्ष विद्यार्थी भर्नाको अनुपात, भौतिक क्षमता लगायत सूचकका आधारमा यस वर्षका लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो ।
महानगरपालिका क्षेत्रभित्र ३९० वटा संस्थागत शिक्षण संस्था सञ्चालनमा छन् । जसमध्ये १०४ विद्यालयमा विज्ञान विषय, १७० मा व्यवस्थापन, ४७ मा कानुन, १८ मा शिक्षा र ५१ विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।