सन्दीपको फैसलामा उच्च अदालतको पूर्णपाठ: दुवैको सहमतिमा सबै घटनाक्रम भएको निष्कर्ष
‘जबरजस्ती करणीकाे कुनै संकेत देखिएन, सन्दीपले आर्थिक सहयोग नगरेपछि रिसको आवेगमा मुद्दा दिएको हुनसक्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । उच्चले गत जेठ २ गते फैसला सुनाउँदै सन्दीपलाई सफाइ दिएको थियो ।
फैसला भएको दुई महिना पछाडि पूर्णपाठ आएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध सन्दीपले पुनरावेदन गरेका थिए । यस्तै गौशाला २६ को तर्फबाट पनि पुनरावेदन भएको थियो ।
उच्च अदालतले पीडित भनिएकी गौशाला २६ सावालिग महिला भएको तथा दुई जनाबीच भएका घटनाक्रमहरुमा असहमतिका कुनै पनि लक्षण नदेखिएको ठहर्याएको छ । पूर्णपाठको ठहर खण्डमा २३ वटा बुँदामा अदालतले सबै कुरा छर्लंग बनाइदिएको छ ।
‘… सबै घटनाक्रमहरूलाई विश्लेषण गरी हेर्दा जबरजस्ती करणीको कसूर भएको मान्न मिल्ने अवस्था नदेखिई प्रतिवादीलाई निजको पीडित साबालक ठहर गरी जबरजस्ती करणी गरेको ठहर्याई काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन’, फैसलाको ७९ नम्बर बुँदामा भनिएको छ । प्रतिवादीबाट पेश भएका प्रमाणहरुले अभियोगदाबी समर्थित हुने कुनै पनि आधार नदेखिएको पूर्णपाठमा उल्लेख छ ।
फैसलामा यी विषयवस्तुहरुलाई औंल्याइएको छ
- गौशाला २६ (छ) (१) ले अदालतमा बकपत्र गर्दा निजलाई तपाईंले I just hugged Sandeep Lamichhane the day before yesterday लेखी प्रशन्न मुद्राको इमोजीसमेत राखेको सम्बन्धमा सो म्यासेज कसलाई गर्नुभएको हो र सो म्यासेजको मतलब बताइदिनुस् भनी सोधनी हुँदा मेरो प्रतिवादी सन्दीप लामिछाने मैले आइडियलाइज्ड गरेको व्यक्ति भएको र उक्त टेक्स्ट एक जना चिनेको दाइसँग कुराकानी गर्ने क्रममा मैले पठाएकी थिएँ भन्ने व्यहोरा लेखाएको ।
- मिसिल संलग्न सीसीटीभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शंकारहित तवरले पुष्टि नभएको ।
- पीडित र प्रतिवादीबीच पीडितको होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको ।
- रातको समयमा काठमाडौं इनमा बसी भोलिपल्ट प्रतिवादीले नै पीडितलाई निजको होस्टलमा पुर्याएको ।
- पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, घटनास्थल प्रकृति मुचुल्का, वारदातस्थलमा भएको वस्तुहरु बेड, तन्ना, टिस्यु पेपर, पीडित गौशाला २६ ले लगाएको भित्री, बाहिरी कपडाहरुको समेत परीक्षण एकातर्फ भएको छैन भने अर्कातर्फ ती प्रमाणहरुले अभियोगदाबी समर्थित हुने कुनै आधार पनि नदेखाएको ।
सहमतिबमोजिम नै सम्पूर्ण घटनाक्रम भएको तथ्यलाई अन्यथा मान्नुपर्ने कारण नदेखिएको पूर्णपाठमा जनाइएको छ ।
बुँदा नम्बर ७८ मा भनिएको छ
‘पीडित आफैंले प्रतिवादीलाई फ्रेन्ड रिक्वेस्ट पठाएको, प्रतिवादीलाई स्न्याप च्याटमार्फत फोटोहरु पठाउने गरेको, प्रतिवादीले आफू क्रिकेट खेल्न विदेश गई २ महिनापछि फर्केर आई भेट्छु भन्दा पीडितले मलाई सहयोग गर्नुपर्यो भनी तुरुन्तै भेट्न चाहेको, प्रतिवादीले गाडी लिएर आउँदा स्वतफूर्त रुपमा पीडित प्रतिवादीको गाडीमा गई बसेको, नगरकोट जाँदासमेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई चाँडै जाउ, तिम्रो होस्टेल बन्द हुन्छ भन्दा होस्टल जुनसुकै बखत पनि खुला हुन्छ भनी प्रतिवादीलाई विश्वास दिलाएको, नगरकोटको होटल प्रतिवादीले बुक गराएको भन्ने तथ्य पुष्टि नभएको र पछि आउँदा मेरो होस्टेल बन्द भइसकेको भनेकाले प्रतिवादीले म तिमीलाई एउटा होटलमा कोठा लिइदिन्छु, म क्लोज क्याम्प रहेको होटलमा साथीहरुसँग बस्न जानुपर्छ भन्दा पीडितले नमानी आफूलाई एक्लै नछोड्नु भनी जिकिर गरेको, दुवै जना स्वस्फूर्त रुपमा नगरकोटको बोजिनी होटलबाट काठमाडौं फर्केको, होटल काठमाडौं इनमा दुवै जना बसेको, होटल प्रवेश गरेदेखि होटलबाट निस्केको बखतसम्म पीडित र प्रतिवादीबीच कुनै झगडा मनमुटाव नभई पीडितले सहमतिबमोजिम नै सम्पूर्ण घटनाक्रम भएको तथ्यलाई अन्यथा मान्नुपर्ने कारण देखिँदैन ।’
गौशाला २६ ले आवेशमा आएर सन्दीपविरुद्ध मुद्दा हालेको हुनसक्ने संकेत न्यायाधीशहरुले गरेका छन् ।
‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादीउपर यस्तो जघन्य कसूरमा जाहेरी दिएको होला भन्ने तथ्यलाई इन्कार गर्न सकिने अवस्था देखिँदैन,’ पूर्णपाठमा भनिएको छ ।
थप भनिएको छ, ‘पीडितसँग होस्टलमा एउटै कोठामा बस्ने प्रतिवादीका साक्षीको रुपमा बकपत्र गर्ने …ले जाहेरी दिएपछि आफूलाई १०–१५ लाख आइहाल्छ अनि मेरो समस्या समाधान हुन्छ भनी पीडितले टेलिफोनमा कुरा गर्ने व्यक्तिलाई भनेको भनी आफ्नो बकपत्रमा उल्लेख गरेकाले पीडितको रुम पार्टनरले पीडितको नालीबेली उल्लेख गर्दै वास्तविक कुरा उजागर गरी बकपत्र गरिदिनुपर्ने अन्य कुनै कारण मिसिल संलग्न कुनै कागज प्रमाणबाट पुष्टि भएको देखिँदैन ।’