सिमलताल दुर्घटनाः बेपत्ता यात्रु र बस खोज्न भारतबाट आयो उद्धार टोली
चितवन । सिमलताल दुर्घटनामा लेदो पहिरोसहित बगेर त्रिशूलीमा हराइरहेका यात्रु र बस खोज्दा भारतबाट आधुनिक उपकरणसहितको टोली आजदेखि परिचालन हुने भएका छन् ।
नेपाल सरकारको अनुरोधमा भारतीय राष्ट्रिय विपद् रेस्पाेन्स बलका १२ जना टोली दुर्घटनास्थल सिमलतालबाट नारायणीमा यात्रुहरुको खोजीमा आएका हुन् । भारतीय उद्धार टाेली सुनाैली नाका हुँदै चितवन आइपुगेकाे हाे ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार १२ जनाको प्रविधियुक्त टोलीलाई आज प्रशासनले घटनाको विस्तृत जानकारी गराएपछि उनीहरु घटनास्थलबाट खोजी कार्यमा जुट्नेछन् । यद्यपि कति समय खोजी गर्छन् भन्ने अहिले नै यकिन नभएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
दुर्घटना भएको मिति अघिल्लो शुक्रबारदेखि नै खोजी कार्यमा खटिएका नेपाली सुरक्षाकर्मी तथा उद्धार टोलीसँग समन्वय गरि खोजी कार्य गरिने प्रजिअ यादवले बताए । आज दिउँसो घटनाबारे जानकारी गराएर दुर्घटनास्थल जाने जानकारी दिए ।
गत शुक्रबार ६५ जना यात्रु बोकेको काठमाडौँबाट गौर जान लागेको गढापति यातायात र बीगञ्जबाट काठमाडौँ हिँडेको एञ्जल यातायातको बसलाई सिमलतालमा माथिबाट आएको लेदोसहितको पहिरोले त्रिशूलीमा खसाएको थियो । तीन जना यात्रुले पौडिएर ज्यान बचाएका थिए भने बाँकी बेपत्ता भएका थिए ।
बेपत्तामध्ये हिजो शुक्रबार बेलुकासम्म २३ जना यात्रुको नेपालको नारयाणी किनार र भारतसमेतका नदी किनाराबाट भेटिएका छन् । बाँकी यात्रु र दुईवटा बसको अझै अत्तोपत्तो लागेको छैन ।