रातारात गरेको सात बुँदेमा के छ ? जनता र राष्ट्रको हितमा भएको भए किन लुकाइरहेका छन् : चित्रबहादुर केसी (भिडिओ)
रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ गठबन्धन गरेर एमाले-कांग्रेसले गरेको सात बुँदे सहमति अहिलेसम्म सार्वजनिक नगरेर लुकाएका कारण धेरै शंका उब्जाएको बताएका छन् ।
बुटवलमा शनिबार प्रगतिशील पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले सहमति अहिलेसम्म सार्वजनिक गर्न नचाहनु नै असल नियत नभएको दाबी गरे ।
‘रातारात गरेको सात बुँदेमा के छ ? जनता र राष्ट्रको हितमा भएको भए किन लुकाइरहेका छन् ? सार्वजनिक नगर्नुपर्ने के कारण हो, यसरी लुकाएर हुँदैन’, उनले भने, ‘कांग्रेस र एमालेले स्थिरताका लागि नयाँ सरकार बनाएको भने पनि सरकार कति दिन टिक्छ भन्ने आधार केही छैन ।’
कांग्रेस र एमालेले स्थायित्व चाहेको भए २०७९ को चुनावको नतिजा आएलगत्तै सोचेर दुई ठूला दल मिलेर सरकार बनाएको भए हुने तर धेरै स्वार्थ मिलेपछि मात्रै अहिलेको समीकरण बनेको केसीले आरोप लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर फेरि मुलुकलाई प्रतिगमनतर्फ लैजानसक्ने उनले आशंका व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा लिने विश्वासको मतको प्रस्तावको पक्षमा आफ्नो दलले भोट नदिने उनले स्पष्ट पारे । उनले पहिले प्रधानमन्त्री भएको बेला ओलीले संसद विघटन गरेको कुरा अहिले पनि गलत हो भन्ने नस्वीकार्ने बताउँदै फेरि पनि संसद विघटन हुनसक्ने आशंका गरेका हुन् ।
अध्यक्ष केसीले सबै मिलेर प्रतिगमन रोक्नुपर्ने बताए । संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत परेकाले सर्वोच्चले के फैसला गर्ने हो, त्यो पनि महत्वपूर्ण हुने बताए । विगतमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै जाने हो, गठबन्धन २०८४ सम्म जान्छ भनेको उल्लेख गर्दै केसीले नयाँ गठबन्धनले स्थिरता दिन्छ भनेर पत्याउन नसकिने बताए ।
‘नेपालको राजनीतिमा सिद्धान्त, इमानजमान छैन, छलकपट, जालझेलमात्रै छ । त्यसैले यो सरकार लामो समय टिक्छ भनेर भन्ने अवस्था छैन’, केसीले भने, ‘यहाँ एउटालाई खेलाएर अर्कोलाई गलाउने, अर्कोलाई प्रयोग गरेर अर्कोलाई सिध्याउने र आफू जोगिने खेलमात्र हुन्छ ।’
संघीयताले प्रदेशहरुमा वर्षेनि अर्बौं रुपैयाँ खर्च बढाएकाले पनि जनतामा राजनीति र संघीयताप्रति वितृष्णा र निराशा पैदा गरेको दोहोर्याउँदै केसीले दुई ठूला दल मिले पनि जनतामा उत्साह नभएको बताए ।
प्रदेशलाई खारेज गरी त्यहाँ दिइने बजेट र हुने खर्च स्थानीय तहमा दिएमा मात्रै देशमा विकास निर्माणका लागि बजेट पुग्ने उनले जिकिर गरे ।
यी तोरीलाउरे रहेछन्
पश्चिमाको दलाली गरेर जीवन गुजारा गर्ने गद्दारहरू नेपालमा छ्याप्छ्याप्ती छन् । चिनेर नालीमा फाल्ने काम मात्र गर्नुपर्छ।