लक्ष्यभन्दा कम राजस्व उठ्नुले ठूलो आर्थिक संकट सृजना भएको देखाउँछः प्रधानमन्त्री ओली (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लक्ष्यभन्दा २४ प्रतिशत राजस्व कम सङ्कलन हुनुले देशमा ठूलो आर्थिक संकट सिर्जना भएको देखाउने बताएका छन् । आइतबार प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत माग्दै देशमा आर्थिक संकट सृजना भएको बताएका हुन् ।
अहिले पर्याप्त तरलता र ब्याजदर न्यून हुदाँ पनि व्यवसायी लगानी गर्न तत्पर नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘१४ खर्ब २२ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ७६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । जबकि विगतमा लक्ष्य भन्दा राजस्व जहिल्यै बढी हुने गरेको थियो । लक्ष्यभन्दा करिब २४ प्रतिशत राजस्व कम उठ्नुले देशमा कति ठूलो आर्थिक सङ्कट सृजना भएको छ भनने देखाउँछ । कहिल्यै बैङ्कहरूमा पैसा थुप्रिएको छ । भने, कहिले बीचबीचमा तरलताको चरम अभाव देखियो । यति बेला तरलता काफी छ । बैंकमा पैसा थुप्रिएको छ । ब्याजदर पनि न्यून छ । तर, पनि लगानी गर्न तत्पर हुने वयवासी छैनन् । कोही पनि कर्जा लिन तयार भइरहेका छैनन् । गत वर्ष करिब ५ प्रतिशतको हाराहारीमा कर्जा विस्तार भयो । जबकि नेपाल राष्ट्र बैङ्कले कर्जा विस्तारको लक्ष्य नै ११.५ प्रतिशत थियो । यसका साथै ऋण लिएर कर्जा तिर्न सकेर कालो सूचिमा पर्नेको सङ्ख्या बढ्दो छ ।’