ओलीलाई बधाई दिँदै माधवले भने- तपाईंले नेपाललाई राजनीतिक अस्थिरताको विश्व च्याम्पियन बनाउनुभयो – Nepal Press

ओलीलाई बधाई दिँदै माधवले भने- तपाईंले नेपाललाई राजनीतिक अस्थिरताको विश्व च्याम्पियन बनाउनुभयो

काठमाडौं । नेकपा एकीकृृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री नियुक्ति भएको एक सातापछि बधाई दिएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री नियुक्त हुनुभएकामा सम्माननीय केपी शर्मा ओलीज्यूलाई औपचारिक रुपमा बधाई ज्ञापन गर्दछु । तपाईं जुन दिन सत्ताबाट बाहिरिनु भएको थियो, वर्ष फरक परे पनि त्यही दिन पारेर सत्तामा पुनः पुग्नुभएको छ । अर्थात् असार २८ गते नेपाली राजनीति र तपाईंको जिन्दगीमा पनि खास माने राख्दछ भन्ने लाग्दछ । अत्यन्त उत्साहित भएर, हौसिएर, अब त के के नै हुन्छ भनेर तपाईंलाई बधाई दिन हतारो गर्नुअघि विगतका केही घटनाक्रमहरु सम्झन जरुरी ठानेको छु ।’

उनले विगतलाई स्मरण गराउँदै कांग्रेस सभापति शेरबहादुर देउवाकै समर्थनमा प्रधानमन्त्री बनेको बताए ।

नेता नेपालले भने, ‘घुमिफिरी २०८१ असार २८ गते तपाईं फेरि शेरबहादुर देउवाकै समर्थनमा प्रधानमन्त्री बन्नु भएकामा हामीले बधाई दिइरहँदा अब तपाईंले काम गर्नुहुनेछ भन्ने आशामात्र गर्न सक्दछौं । मध्यराति प्रतिनिधिसभा विघटनदेखि आफ्नै समर्थनको सरकार ढाल्नेसम्मका तपाईंका क्रियाकलापले निश्चित व्यक्तिहरु तरंगित र भावुक भएर अँगालो हालेको त देखिएको छ, तर तत्तत् पार्टीकै नेता कार्यकर्ताहरु अहिलेसम्म जिल्ला तहमा बोलचाल गर्न सकिरहेका छैनन्, जनता उत्साहित भएको देख्न बाँकी नै छ ।’

उनले नेपालको राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात भइरहेको विषय उल्लेख गरे ।

उनले भने, ‘तपाईं प्रधानमन्त्री बनिरहँदा ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भनेर फ्रान्सको दैनिक पत्रिका ‘लि मोन्ड’ ले समाचार प्रकाशित गरेको आमनेपाली जनताले पनि थाहा पाएका छन् । संसारमै यस्तो सन्देश प्रवाह भइरहेकोबारे गम्भीर हुन जरुरी छ । ‘राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले शीर्ष स्थान कायम राखेको छ’ भनेर समाचार प्रवाह हुँदा पक्कै नेपाल र नेपालीले गौरवबोध गर्न सक्दैनन् ।’

नेता नेपालकाे भनाइकाे पूर्ण पाठ


प्रतिक्रिया

3 thoughts on “ओलीलाई बधाई दिँदै माधवले भने- तपाईंले नेपाललाई राजनीतिक अस्थिरताको विश्व च्याम्पियन बनाउनुभयो

  1. नेपालमा अस्थिरताको कारक माधव नेपाल र प्रचण्ड हुन् । जो चोर उसैको ठूलो स्वरजस्तो नगरौं ।

  2. नेपाल मा राजनीतिक अस्थिरता को कारण २०५४/२०७७ मा माधवकुमार नेपालले दनेकपा एमालेलाई छतबिक्षत बनाउनु हो यसको दोष अलिकति प्रचण्डले पनि लिनुपर्छ अस्थिरता उहाँको पहिचान देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर