सत्ताको बागडोर आलोपालो चलाउने सहमति गरेका ओली र देउवाले एकअर्कामाथि देखाएको विश्वास
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको साता बुँदे सहमति एक सातापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा सार्वजनिक गरे । सहमतिको बारेमा आज प्रधानमन्त्री ओलीले मात्रै होइन, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि खुलेरै बोले ।
ओलीले जनताको चाहाना वमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनैतिक स्थिरताको लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, राजनीतिक स्थायित्वका लागि संविधानको संशोधनदेखि अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने सहमति भएको उल्लेख गरे ।
उनले सरकार गठनको मितिले दुई वर्षसम्म आफू र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेसका सभापति देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सहमतिअनुसार ओलीले देउवालाई ०८३ असार मसान्तमा सत्ता हस्तान्तरण गर्नुेपर्ने छ। तर, कांग्रेस नेताहरुले ओलीले इमान्दारितापूर्वक सत्ता हस्तान्तरण गर्नेमा आशंका व्यक्त गर्दै आइरहेका छन् ।
तर, ओलीले सदनमा बोल्दै कांग्रेस देउवालाई विश्वास दिलाउन भरपूर प्रयत्न गरे ।
उनले राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्युनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन समेत बताए ।
उनले देशमा बढेको निराशालाई अन्त्य गर्न कांग्रेससँग मिलेको उल्लेख गरे ।
उनले भने, ‘निराशालाई चिर्नका निम्ति राजनीति विकास र समृद्धिको बहसतर्फ मोडिनै पर्छ । देशलाई विकास र समृद्धितर्फ हिँडाउन बलियो प्रणाली नभइकन हुँदैन, नबनाईकन हुँदैन । बिना स्थायित्व बलियो प्रणाली नबन्ने रहेछ भन्ने कुराको हामी आफैं साक्षी हौं ।’
नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता बलिया पार्टीले पटकपटक काँध थाप्दा पनि प्रचण्ड नेतृत्वको सरकारले लय नसमातेको बताए ।
उनले भने, ‘सरकारले थिति बसाल्न सकेन । थिति बसाल्ने रुचि पनि राखेन । जसको कारण समाजमा अनेकन् दुषित परिणाम निस्कने खतरा बढ्यो । त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सकेनौं । यही कुरालाई आत्मसात्गरी पुरानो सरकारको ठाँउमा यो नयाँ सरकार बनाएका हौं ।’
उनले कांग्रेस प्रतिस्पर्धी पार्टी भएको उल्लेख गर्दै खास समयमा दुई पार्टीले सहकार्य गरेको उल्लेख गरे । उनले देउवाको विश्वास दिलाउन कांग्रेससँगको सहकार्यबारे स्मरण गरे ।
– २००७ सालमा राणा शासनको अन्त्यका लागि एक भएका थिए ।
– २०४६ सालमा निरकुंश पञ्चायत फाल्न एक भएका थिए ।
– २०६२/६३ मा देशमा फैलिएको सशस्त्र हिंसाको आगो निभाउन र राजतन्त्र फाल्नएकमत भएका थिए । त्यसैको जगमा अरु शक्तिलाई साथमा लिंदै यी दुई पार्टीले संविधान निर्माणको नेतृत्व गरे ।
उनले कांग्रेससँग मिलेपछि अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको जिकिर गरे ।
ओलीले थपे, ‘५० लाखभन्दा बढी लगानीकर्ताहरू संलग्न सेयर बजार पछिल्लो २ सातामा ४०० अंकले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण हो यो । म यस सम्मानीत सदनमार्फत्सम्पूर्ण दिदीबहिनी, दाजुभाइलाई भन्न चाहन्छु— अब सेयर बजार मात्र होइन, देशको पूरैबजार चलायमान हुनेछ ।’
सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास कांग्रेस एमालेसँग रहेको जिकिर गरे ।
उनले थपे, ‘म सधंै अघि बढ्ने मानिस हँु, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन । हामी सबैले महशुस गरेको कुरा–अहिले विकासको मुख्य तगारो अस्थिरता हो । अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ । हामीले बुझ्नु पर्ने कुरा के छ भने संविधान विकासको वाहक हुनुपर्छ, बाधक होइन ।’
ओलीले मात्रै होइन सदनमा देउवाले पनि ओलीमाथि विश्वास व्यक्त गरे ।
उनले भने, ‘माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ । वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्णकार्यान्वयनका लागि आवश्यक कानुनहरूको निर्माण, लगानीको वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गति दिँदै रोजगारीका थप अवसरको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिनुहुने दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’
ओली अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी भएको उल्लेख गर्दै मन्त्रिमण्डलमा रहेका साथीहरू पनि योग्य र सक्षम रहेको जिकिर गरे । ‘ओलीको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउन गठन भएको वर्तमान सरकार सफल हुने विश्वास लिएको छु’ देउवाले थपे ।
राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको नयाँ सरकार सफल हुने भन्दै एमालसँग भएको सात बुँदे सहमतिको कार्यान्वयनप्रति प्रतिबद्ध रहेको बताए ।
Just chill dhondu