महिला भलिबल : आज नेपालले किर्गिस्तानसँग खेल्दै
काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज किर्गिस्तानसँग खेल्ने भएको छ ।
माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने दाउका साथ मैदानमा उत्रनेछ । लिगमा किर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो ।
लिगको अन्तिम खेलमा श्रीलङ्काले किर्गिस्तानलाई ३-२ सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो । लिगमा अपराजित रहेको श्रीलङ्का तीन खेल जित्दै आठ अङ्क जोडेर शीर्षस्थानमा रह्यो ।
दुई जित र एक हारबाट पाँच अङ्क जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अङ्कसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो ।
लिगमा पहिलो श्रीलङ्का र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल खेल पनि आजै हुनेछ ।