बागमतीमा पहिलो पटक सरकारको नेतृत्व गर्दै कांग्रेस – Nepal Press

बागमतीमा पहिलो पटक सरकारको नेतृत्व गर्दै कांग्रेस

हेटौँडा । नेपालमा सङ्घीयताको सुरुवात भएको सात वर्षपछि बागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुने भएको छ ।

२०७४ साल माघमा वाम गठबन्धनको तर्फबाट तत्कालीन प्रदेश नम्बर ३ (हालको बागमती प्रदेश) मा नेकपा एमालेका डोरमणि पौडेल संस्थापक मुख्यमन्त्री बनेका थिए । २०७४ माघ २५ मा पहिलो मुख्यमन्त्रीको शपथ लिएयता यहाँ चार पटक कम्युनिस्ट नेताहरु मुख्यमन्त्री रहे ।

४२ महिनासम्म मुख्यमन्त्री बनेका पौडेलले एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको विवाद र एमाले विभाजनको सम्भावनाबीच मुख्यमन्त्री पौडेलले राजीनामा दिए । यसै बिचमा एमाले विभाजन भयो ।

पौडेलको राजीनामापछि २०७८ भदौ २ गते एमालेबाटै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भइन । पार्टी विभाजनको असर एमाले बागमती प्रदेशमा पर्दा शाक्य सरकार पनि धेरै समय टिक्न सकेन ।

१०९ प्रदेशसभा सदस्य रहेको बागमतीमा ५५ प्रदेशसभा सदस्य सहित एमाले एकल बहुमतमा थियो । तर विभाजनको असरले शाक्यलाई धेरै समय सरकार चलाउने मौका मिलेन । परिणामस्वरुप एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री भए ।

एमाले बाहेक निर्माण भएको कांग्रेस-माओवादी-समाजवादी र जसपा गठबन्धनको तर्फबाट पाण्डे मुख्यमन्त्री भए । उनलाई माओवादीबाट २३, कांग्रेसबाट २२, एकीकृत समाजवादीबाट ११ र जसपाबाट एक गरी ५९ सांसदको समर्थन रहेको थियो ।

२ महिना मात्र मुख्यमन्त्री भएकी शाक्यले राजीनामा दिएपछि पाण्डेले २०७८ कार्तिक १२ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । पाण्डेले शपथ लिँदा ६ महिना उनले र छ महिनापछि काङ्ग्रेस संसदीय दलका नेताले चुनावी सरकारको नेतृत्व गर्ने सहमति थियो । तर उनले त्यो समय काङ्ग्रेसलाई धोखा दिएर मुख्यमन्त्री नछाडेपछि काङ्ग्रेसले पहिलो कार्यकालमा प्रदेश सरकारमा नेतृत्व लिने अवसर गुमायो । र इन्द्र बानियाँसँग गरेको लिखित सहमतिले पनि काम गरेन ।

२०८९ मा दोस्रो कार्यकालको प्रदेशसभा निर्वाचन हुँदा कांग्रेस-माओवादी-समाजवादीले गठबन्धन गरेर निर्वाचनमा भाग लिए । परिणामस्वरूप बागमतीमा काङ्ग्रेस पहिलो दल भयो । यहाँ उसले ३७ सिट जित्न सफल भयो । यो पटक गठबन्धनको ठूलो दलको नाताले काङ्ग्रेसको भागमा सरकारको नेतृत्व हुने करिब निश्चित थियो । तर केन्द्रीय राजनीतिमा माओवादी केन्द्रले एमालेसँग हात मिलाएपछि बागमतीमा काङ्ग्रेसले पुन एक पटक सरकार विहीनताको अवस्था झेल्नु पर्‍यो । दोस्रो कार्यकालको लागि पहिलो मुख्यमन्त्रीको रूपमा यहाँ माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले एमाले र राप्रपाको समर्थनमा २०८९ पुस २५ मा शपथ लिए ।

एमाले-राप्रापा-माओवादीको गठबन्धन ३ महिना पनि टिकेन । केन्द्रमा गठबन्धन भत्किएको कारण प्रदेशमा एमाले र राप्रपा सरकारबाट बाहिरियो र कांग्रेस भित्रियो । तर मुख्यमन्त्रीमा जम्कट्टेल नै यथावत् रहे । जम्कट्टेलले मुख्यमन्त्री सम्हालेको ८ महिनापछि केन्द्रीय राजनीतिमा पुनः गठबन्धन परिवर्तन भयो । फलस्वरूप पहिलो पटक नेपाली कांग्रेसले बागमतीमा नेतृत्व गर्न पाउने अवस्था निर्माण भएको छ ।

कांग्रेस-एमालेको गठबन्धनको तर्फबाट काङ्ग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्दैछन् । उनको शपथग्रहण साउन ९ मा हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर