उपसभामुख प्रकरणमा चुकिरहेको रास्वपा – Nepal Press
टिप्पणी

उपसभामुख प्रकरणमा चुकिरहेको रास्वपा

रास्वपाको दोहोरो मापदण्डः १६ महिनाअघि ढाकाकुमारलाई लात, अहिले इन्दिरा रानालाई साथ

काठमाडौं । २०७९ चैतमा रास्वपाका सांसद ढकाकुमार श्रेष्ठले घुस मागेको भनिएको अडिओ यत्रतत्र सार्वजनिक भयो । अडिओ सार्वजनिक भएपछि त्यसको प्रतिरक्षामा उत्रेन रास्वपा । अडिओ ‘डीप फेक’ हो भनेन । उनले कुनै भावनात्मक तर्क गरेन । ढाका कुमारका सकारात्मक पाटोको विज्ञापन गरेन । उसले बोल्ड डिसिजन गर्‍यो ।

ढाकाकुमारलाई चैत २९ मा साधारण सदस्यबाट हटाइयो । रास्वपाकै सिफारिसमा २०८० वैशाख १२ को सदन बैठकमा सभामुख देवराज घिमिरेले ढाकाकुमार सांसद नरहेको जानकारी गराए । रास्वपाले उनको स्थानमा विन्दबासिनी कंसाकरलाई समानुपातिक सांसद बनायो । ढाकाकुमारको काण्डबाट धक्का खाएको उसले कंसाकरलाई ल्याएर जनसमर्थन थप्यो ।

१६ महिना अगाडि यति कठोर रास्वपाले अहिले उपसभामुख काण्डमा भने फरक व्यवहार देखाएको छ । उसले साउन ६ गते विज्ञप्तिमा भनेको छ, ‘पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहनु भएको सर्वविदितै छ ।’

फेरि सोही विज्ञप्तिको अर्को लाइनमा भन्छ, ‘…धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मितिमात्रै होइन, भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ ।’

मनिष झाजस्ता तथ्यजाँचको क्षेत्रमा काम गरेका अनुहारबाट यो खालको प्रतिरक्षा हुनु स्वाभाविक थिएन । हिजो संसद बैठकमा रास्वपाका अध्यक्ष रवि लामिछानेले इन्दिरा राना मगरलाई ‘संसारले मानेको व्यक्ति’ को उपमा दिए । संसारले मानेको व्यक्तिको पत्रलाई अमेरिकी दूतावासले किन मानेन भन्ने चाहीँ खोतलेनन् ।

०२३ फेब्रुअरी २६ मा लेखेको पत्रमा उपसभामुख मगरले मार्च ६ देखि १७ सम्म हुने एक एनजीओको कार्यक्रममा जान भन्दै आफूसहित ६ जनाको नाम र पासपोर्ट नम्बर टिपाएकी थिइन् । महिला बारेमा काम गर्ने एनजीओको अमेरिकामा हुने कार्यक्रममा जुन-जुन नाम उपसभामुखले सिफारिस गरेकी छिन्, ती कोही पनि चिनिएका नाम होइनन् । न महिलाको आन्दोलनमा जोडिएका अनुहार हुन् । न महिला क्षेत्रमा काम गरेका उदाहरणीय सामाजिक, कानुनी, राजनीतिक तथा उद्यम क्षेत्रका अनुहार हुन् ।

आफ्नो अन्तर्वार्ता मितिसहित ती पाँचजनाको नाम संसदको लेटरप्याड प्रयोग गरेर सिफारिस गरिनु सामान्य कुरै होइन । आफू जाने कार्यक्रममा उपसभामुखले कस्ता मान्छे लाने रहेछिन् वा उनको नियत के हो भन्ने प्रश्न बलियोसँग यसले जन्माएको छ । हो, महिलाको कार्यक्रममा एसिडपीडित मुस्कान खातुन वा कीर्तिमानी आठ हजार मिटरमाथिका हिमाल आरोही पूर्णिमा श्रेष्ठ अथवा पुरुष दबदबा भएको भ्लगिङ क्षेत्रमा कर्णालीबाट उदाएकी सिर्जना सिज्जु वा विभिन्न उदाहरणीय महिला वा महिला क्षेत्रका सफल अनुहारलाई उनले समेटेकी थिइन् भने मानव तस्करीको आरोप खेप्नु पर्ने थिएन ।

अझ महिलासम्बन्धी कार्यक्रममा चार पुरुष र एक महिला सिफारिस गरेको पत्रले त झनै संशयको स्थान बनेको छ । संयुक्त राष्ट्रसंघको ‘कमिसन अन दि स्टाटस अफ विमिन’ को कार्यक्रममा पुग्ने मेलोमेसोमा उता गुमनाम एनजीओको कार्यक्रममा मान्छे लानुले आशंकालाई बल पुग्छ ।

हुन त उपसभामुख मगरले साउन ४ गते जारी गरेको पत्रमा पनि महिला कार्यक्रममा गैरमहिला लगेर अप्रासंगिक कुरा गरेजस्तै कुरा गरेकी छिन् । उनले प्रेस विज्ञप्तिमा एक ठाउँ भनेकी छिन्, ‘….बालबालिकाको क्षेत्रको नोबेल पुरस्कार भनिने वर्ल्ड्स चिल्ड्रेन्स प्राइज’ लगायत थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित हुने अवसर पनि पाएको छु ।’

नोभेल पुरस्कार भनिने भनेर उनले भावुक तर्क गरिन् । यो नोभेलसँग जोडिएर भनिने पुरस्कार होइन । यदि हुन्थ्यो त सन् २०१४ मा मगरभन्दा अगाडि सोही पुरस्कार सन् २००२ मा माइती नेपालकी अनुराधा कोइरालाले पाउँदा त्यसो भनिएको पाइन्न । सन् २००० बाट सुरू भएको स्विडेनको चिठ्ठा सञ्चालन गर्ने संस्था र विदेश सहयोग विभागले सञ्चालन गरेको पुरस्कारलाई नोभेलसँग दाँज्न मिल्दैन । त्यो पनि उपसभामुखको लेटरप्याड प्रयोग गरेर । मनमा लाग्न पायो । तर, अप्रमाणित कुरा दाबी गर्न मिल्दैन ।

उपसभामुखलाई ढाकाकुमार जस्तो दलबाटै निष्कासन गर्नु पर्थेन, किनकी उनी आफैं अलग भइसकेकी छन् । उपसभामुखमा पनि रास्वपाले बार्गेनिङ गरेर अर्को अनुहार लैजान सक्छ । तर, जसरी अहिले उपसभामुखले गरेको बदमासीका पक्षमा रास्वपा उभिएको छ, यसले दल र दलका आशा गरिएका नेताहरूको तारिफ गर्नेहरू नै आलोचक बन्ने दिन सुरु हुन्छ । यो टिप्पणीकारले सुमना श्रेष्ठको तारिफ गरेकै हो । उनका धेरै कामहरू तारिफयोग्य छन् । तर, आइतबार सदनमा उनले बोलेको कुरा सुन्दा उनी पनि १६ महिना अगाडि ढाकाकुमार प्रकरणको रास्वपाभन्दा पृथक भएजस्तै पृथक भएको देखिएको छ । उनले उपसभामुखको खुलेरै बचावट गरिन् । भावुक कुरा गरिन् । विश्वले चिनेको तर नेपालमा मिडिया तथा सत्ताधारी नेताले बिगार्न खोजेको जस्तो तर्क गरिन् । उनले यो पनि भन्न भ्याइन्, ‘यदि आचरणको कुरा गर्ने हो भने सबैको लेटरप्याडबाट के-के निस्केको छ हेरौँ । र साँच्चै पद्धति बनाऔँ ।’

यति भनेर आचरणमा हामीमात्रै होइन तिमीहरू ठूला दल पनि खराब छौ भनेर सुमनाले आफ्नै आलोचक बढाइन् । अरुले जे पनि गर्न पाउने, हामीले किन नपाउने ? भन्ने खालको तर्क रह्यो उनको । रास्वपाको अडानले ओरालो लागेको लोकप्रियताको ‘नेप्से’ को ग्राफ थप तल खसालेको छ । रास्वपाका पेशेवर विरोधीहरू जस्तो राष्ट्रिय स्वतन्त्र पार्टी नभनेर ‘राष्ट्रिय सहकारी पार्टी’ भन्ने कूतर्क होइन यो । रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकालले भारतको नाम लिएर जे-जे भन्दा रास्वपा र त्यसको नेतृत्वको बदनाम हुन्छ, त्यही त्यही भन्दै रास्वपालाई नियतबस खराब करार गरेको जस्तो मुद्दा पनि होइन यो । यो त उपसभामुखले सदनको काममा भन्दा एनजीओको काममा खटाइ गरेर निजी फाइदा लिएको गम्भीर कुरा हो ।

उसो त उपसभामुखले आफ्नो सामाजिक फेसबुकमै उपसभामुखको रूपमा भन्दा एक एनजीओकर्मीको रूपमा प्रचार गरेको देखिन्छ । उपसभामुखले एनजीओ सञ्चालन गर्न पाउने वा नपाउने त्यो कानूनी पाटोको कुरा पछि गर्दै गरौँला । अहिले चै यत्ति भनौँ- एनजीओले उपसभामुख चलाउनु भएन । एनजीओको कार्यक्रममा जान उपभासमुखको लेटरप्याड दुरुपयोग हुनुभएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *