ग्लोबल टी- २० : भ्यान्कुभरको नयाँ कप्तानमा सन्दीपको चर्चा – Nepal Press

ग्लोबल टी- २० : भ्यान्कुभरको नयाँ कप्तानमा सन्दीपको चर्चा

काठमाडौं । ग्लोबल टी २० लिग खेल्न नेपालका स्टार सन्दीप लामिछाने आज क्यानडा प्रस्थान गरेका छन् । यस प्रतियोगिताको नयाँ संस्करण आउँदो बिहीबार सुरू हुँदैछ ।

ग्लोबल टी २० मा यसपालि सन्दीपसँगै नेपालका थप दुई खेलाडी दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल पनि सहभागी छन् । सन्दीप र दीपेन्द्र एउटै टीम भ्यान्कुभर नाइट्सका सदस्य हुन् । रोहितलाई भने टोरन्टो नेसनल्सले अनुवन्ध गरेको छ । दीपेन्द्र र रोहितभन्दा अगाडि नै सन्दीप क्यानडा लागेका छन् ।

यतिबेला भ्यानकुभर नाइट्सको सम्भावित कप्तानका रूपमा पनि सन्दीपको चर्चा सुरू भएको छ । भ्यान्कुभरले पाकिस्तानी खेलाडी मोहम्मद रिजवानलाई कप्तान बनाएको थियो । तर, पाकिस्तानी क्रिकेट बोर्डले रिजवान र सोही टिमका ब्याट्सम्यान बाबर आजमलाई अनुमति नदिएपछि उनीहरूले यो प्रतियोगिता खेल्न नपाउने भएका छन् । पाकिस्तानी राष्ट्रिय टीमको व्यस्त तालिकाका कारण खेलाडीहरूलाई बोर्डले अनुमति नदिएको हो ।

रिजवान सहभागी हुन नपाउने भएपछि भ्याकुभर नाइट्स कप्तानविहीन बनेको छ । अहिलेसम्म टीमका तर्फबाट यस विषयमा कुनै पनि औपचारिक सूचना वा जानकारी गराइएको छैन । प्रतियोगिता सुरू हुन तीन दिनमात्रै बाँकी भएकाले तत्काल अर्को कप्तान नियुक्त गर्नुपर्ने छ । यही भएर सन्दीपलाई चाँडै बोलाइएको अनुमान गर्न सकिन्छ ।

सन्दीप भ्यानकुभर नाइट्सका प्रमुख खेलाडीमा पर्छन् । साथै, अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटका अनुभवी पनि हुन् । उनले अधिकांस देशमा आयोजना हुने टी २० लिग खेलिसकेका छन् । साथै, केही समय नेपालको राष्ट्रिय टिमको समेत नेतृत्व गरेका थिए । यही भएर सन्दीपलाई भ्यानकुभर नाइट्सको सम्भावित कप्तानको रूपमा समेत हेरिएको छ ।

भ्यानकुभरमा अझै पाकिस्तानका तीन खेलाडी मोहम्मद आमिर, आसिफ अली र सर्मद अनवर छन् । आमिर अहिले पाकिस्तानी राष्ट्रिय टि २० टिमका प्रमुख बलर हुन् । उनले हालै टी २० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । आसिफ अली केही समयअगाडि पाकिस्तानी टीममा थिए पनि अहिले स्थान गुमाएका छन् । उनी हार्ड हिटिङ ब्याट्सम्यान पनि हुन् । अनवरले भने राष्ट्रिय टीमबाट खेलेका छैनन् ।

यस्तै, टेस्ट राष्ट्र साउथ अफ्रिकाका मिचेल रिपोल यस टीममा आवद्ध छन् । उनले साउथ अफ्रिकाको राष्ट्रिय टीमबाट ९ एक दिवसीय र १९ टी २० खेलिसकेका छन् । अन्य हाइप्रोफाइलका खेलाडी छैनन् ।

ग्लोबल टी २० को अघिल्लो संस्करणमा सन्दीपले सर्रे जागुअर्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । यो सिजनमा भ्यानकुभरले उनलाई प्रमुख स्पिनरको रूपमा भित्र्याएको हो । टीम व्यवस्थापनसँग उनको राम्रो सम्बन्ध रहेको बुझिएको छ । यसले पनि कप्तानीमा सन्दीपको सम्भावना बलियो बनाएको हो । तर, टीम व्यवस्थापनले निर्णय नगर्दासम्म केही भन्न सकिने अवस्था भने छैन ।

स्मरणीय छ कि विश्वका थुप्रै फ्रेन्चाइजी लिगहरू खेलिसके पनि सन्दीपले अहिलेसम्म कुनै पनि टीमको कप्तानी भने गर्न पाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर