दशौं राष्ट्रिय खेलकुद सञ्चालनको सपनासहित बनिरहेको सुर्खेत रंगशाला निर्माण अन्तिम चरणमा
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशाला निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश गौरवको आयोजनाको सूचीमा रहेको यो रंगशालाको कुल लागत १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँ छ ।
आउँदो मंसिर २-९ सम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको तयारीका साथ निर्माण तीव्र बनाइएको रंगशालाको हालसम्म ९० प्रतिशत काम सकिएको प्राविधिकहरूले बताएका छन् । रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि पनि योग्य बनाइने निर्माण पक्षले जनाएको छ ।
२०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेको रंगशाला निर्माणको जिम्मा एमएसी-जीएसएल कम्पनीले पाएको थियो ।
के-के सकियो के काम बाँकी ?
अत्याधुनिक तरिकाले निर्माण थालिएको रंगशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माणलगायत काम भएका छन् । १० हजार दर्शक क्षमताको उक्त रंगशाला फिनिसिङलगायतका काम बाँकी छ । गत जेठ ११ मा निर्माण सक्नुपर्ने सम्झौताअनुसार काम थालिएकोमा १० प्रतिशतजति मेसिनरी काम बाँकी छ । छाना छाउने, दुबो रोप्ने र हरियाली बनाउने लगायतका काम पनि बाँकी रहेका छन् । झ्याल ढोका, बाथरुम फिटिङको काम पनि बँकी छ ।
साथै, आउटडोर मोडमा भलिबल, बास्केट बललगायतका खेल संरचनाको काम सम्पन्न भएका छन् भने फुटबल मैदानको काम पनि सकिएको छ । प्याराफिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने बाहेकको भौतिक संरचनाको काम सबै सकिएको छ । रङ्गशाला वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माणका काम भइरहेको छ ।
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले दशौं राष्ट्रिय खेलकुदसम्ममा रंगशाला पूर्ण तयार हुने बताए ।
उनले नेपाल प्रेससँग भने, ‘हामीलाई काम गर्नमा लकडाउनले पनि समस्या पार्यो । एकदमै रफ्तारमा काम गरेपनि अनेक प्रकारको समस्याका कारण काममा केही ढिलाइ भएको हो । तर, पनि दशौं राष्ट्रिय खेलकुद समयमा हुन्छ भन्नेमा विश्वस्त छौं । कर्णाली प्रदेशले आफ्नो तयारी गर्नुका साथै परिषद्ले तोकिएको समयमा प्रतियोगिता निर्णय गरसिकेको छ ।’
हालसम्म १ अर्ब ४४ करोड बराबरको रकम निर्माण कम्पनीलाई भुक्तानी गरिसकेको सदस्य सचिव सञ्ज्यालले सुनाए । उनका अनुसार रंगशालाभित्र १६ वटा खेल खेल्न सकिने छ ।
यसरी हुँदैछ राष्ट्रिय खेलकुदको तयारी
प्रतियोगितालाई ध्यानमा राखेर कर्णाली प्रदेश खेलकूद विकास परिषद्ले सम्भावना बोकेका खेलाडीलाई प्रशिक्षण दिइरहेको छ । खेलाडी प्रशिक्षण शिविरबाट नयाँ खेलाडी उत्पादन हुने पनि अपेक्षा गरिएको जनाएको छ । यसभन्दा अगाडि प्रतिस्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई सहभागी गराई प्रशिक्षण दिइरहेको छ । पहिलो चरणको प्रशिक्षण जेठ १ देखि सुरू भएर असार १ मा सकिएको थियो ।
कराँते, तेक्वान्दो, कबडी, टेबुल टेनिस, एथलेटिक्स, रग्बी, उसु,र बक्सिङ्गलगायतको पनि प्रशिक्षण भइरहेको छ । प्रमुख प्रशिक्षक मेघराज कठायतका अनुसार एथलेटिक्स जुम्लामा र टेबुल टेनिस सल्यानमा बन्द प्रशिक्षण भइरहेको छ ।
उनका अनुसार प्रशिक्षणमा १९० जना खेलाडी सहभागी छन् । जसमा कराँते २३ जना तेक्वान्दो १४, कबडी ३५, टेबुल टेनिस सुर्खेत ६ र सल्यानमा ४ जना, एथलेटिक्स सुर्खेत १४, जुम्ला १२, रग्बी ३६, उसु ३१ र बक्सिङ्ग १४ जना बन्द प्रशिक्षणमा छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले नतिजामूलक उपलब्धि हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको कठायतले बताए ।
उनले भने,‘अहिले दशौं राष्ट्रिय खेलकुदको तयारीमा पनि छौँ, उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउनु प्रशिक्षणको मुख्य उद्देश्य हो । प्रतियोगिताका खेलाडीलाई प्रशिक्षण दिइरहेका छौँ ।’
दशौं राष्ट्रिय खेलकुदका लागि बजेट
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले ६० करोड बजेट विनियोजन गरेको छ । आव २०८१/०८२ का लागि युवा तथा खेलकुद मन्त्रालयले ६५ करोड छुट्याएको छ । जसमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड र प्रथम रारा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५ करोड बजेट विनियोजन गरेको युवा तथा खेलकुद मन्त्रालयका योजना शाखा अधिकृत गणेश गुरुङले नेपाल प्रेसलाई जानकारी दिए ।
६० करोड बजेट बाँडफाँट गर्न बाँकी रहेको गुरुङले बताए ।
‘बजेट कहाँ कति छुट्याउने भनेर मस्यौदा बन्दैछ । खेलाडीको बसोबास, खाना, अफिसियलका लागि भत्ता, ड्रेस जसमा जर्सी र ट्याकसुट यस्तै यस्तैमा हुन्छ होला । यस्तै, पुरानो पूर्वाधार सरसफाइदेखि रङरोगनको कार्य पनि यसै बजेटबाट हुन्छ’, गुरुङले भने ।
यस्तै, कर्णाली सामाजिक विकास मन्त्रालयले यस आर्थिक चालूतर्फ २ करोड र पूँजीगत १० करोड विनियोजन गरेको छ । नपुग रकमबापत १६ करोड मागिएको छ । स्थानीय तहसँग सहयोग मागेर भएपनि बजेट दशौं खेलकुद प्रतियोगितालाई स्रोतको कमी हुन नदिने सरोकारवाला बताउँछन् ।
वीरेन्द्रनगर नगरपालिकाले प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ४२ लाख ७५ हजार विनियोजन गरेको छ । कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीलाई प्रशिक्षण, तालिम लगायतका अन्य व्यवस्थापकीय कार्यमा नगरपालिकाका तर्फबाट सहयोग गर्ने मेयर मोहनमाया ढकालले जानकारी दिएकी छन् ।
ढकालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई स्वर्ण, रजक र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगरपालिकाको तर्फबाट क्रमशः १ लाख, ७५ हजार र ५० हजार र टीमलाई क्रमशः २ लाख, १ लाख पचास हजार र १ लाख पुरस्कार उपलब्ध गराइने जानकारी दिइन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोतिमा २२ वटा खेलको आयोजना हुने जनाइएको छ ।