महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या बढाउने आईसीसीको निर्णय
काठमाडौं । सन् २०३० मा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपमा १६ टीमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आईसीसीको सोमबार श्रीलंकामा सम्पन्न बोर्ड बैठक तथा वार्षिक साधारणसभाले महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या १२ बाट १६ पुर्याउने निर्णय गरेको हो । आईसीसीको यो निर्णयले नेपाल जस्ता टोलीलाई फाइदा पुग्नेछ ।
यस्तै सन् २०२६ मा हुने पुरुष टी-२० विश्वकपमा एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट ३ टोलीलाई सहभागी गराइने निर्णय भएको छ । यी दुई क्षेत्रको अन्तिममा एउटै प्रतियोगिताबाट विश्वकप छनोट हुनेछ ।
यसअघि एसिया क्षेत्रबाट मात्र छनोट हुँदै आएको थियो । आईसीसीका अनुसार अफ्रिका र युरोपबाट २-२ र अमेरिकी क्षेत्रको छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।