कांग्रेस-एमालेको सहकार्य राजनीतिलाई सङ्ल्याउन सहयोगी बन्नेछ : मुख्यमन्त्री कार्की – Nepal Press

कांग्रेस-एमालेको सहकार्य राजनीतिलाई सङ्ल्याउन सहयोगी बन्नेछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताएका छन् ।

आज पुष्पलाल स्मारक समिति विराटनगरले आयोजना गरेको पुष्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र संघर्षको कारण राजनीतिक परिवर्तन भएको बताए ।

नेकपा एमाले नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको र एमालेले नै कम्युनिष्टहरूलाई एकता गरेर लाने कार्कीको जिकिर छ । वामपन्थी पार्टी र प्रजातान्त्रिक पार्टी मिलेर निरंकूशता ढाल्नु पर्छ भन्ने विचार पुष्पलालको भएको र सोही जगमा २०३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेको चर्चा गर्दै उनले यसैको बलमा २०४६ सालमा आन्दोलन सफल भएको बताए ।

मुख्यमन्त्री कार्कीले अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज भएको बताउँदै परिवर्तनका लागि वामपन्थी र प्रजातान्त्रिक दल मिल्नु आजको आवश्यक्ता भएको प्रष्ट्याए । यो सहकार्यले संविधानलाई अझ परिस्कृत पार्दै राजनीतिलाई सङ्लो बनाउन सहयोग गर्ने उनको विश्वास थियो ।

कार्यक्रममा १०१ वर्षीय वामपन्थी कार्यकर्ता नरबहादुर लिम्बूलाइ १० हजार नगदसहित सम्मान गरिएको थियो । यसैगरी पुष्पलाल स्मारक समितिले आयोजना गरेको खुला कविता प्रतियोगिताका विजेताहरूलाई समेत पुरस्कृत गरेको छ ।

प्रतियोगितामा प्रथम हुने मोरङकी कवि लक्ष्मी रायमाझी, द्वितीय हुने नुवाकोटका सुजन डोटेल तृतीय हुने विराटनगरकी रीता पाठक तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेहरू सुनसरीका युवराज दाहाल र विराटनगरकी लक्ष्मी घिमिरे रेग्मीलाई पुरस्कार वितरण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर