भारतीय गोताखोरले पनि सकेनन् हराएका यात्रु खोज्न, सबैले आशा मार्दै
चितवन । चन्द्रकिशोर राय यादव असार २८ देखि चितवनमा छन् । त्रिशूलीमा दुई बस खस्दा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा कुरिबस्छन् । घरी भेटिएका शवमा सालो छ कि भनेर भरतपुर अस्पताल पनि धाउँछन् ।
भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न त हराइरहेका यात्रु, केही भेट्न सकेको छैन ।
चन्द्रकिशोर सरकारले भेटिने नभेटिने जे भन्छन् त्यही मानेर घर फर्किने निर्णयमा पुगिसकेका छन् । घटनाको ११औं दिनसम्म खोज्दा त्रिशूलीमा हराइरहेका ६२ मध्ये २५ जनाको शव भेटिएको छ । बसको नामोनिशान भेटिएको छैन । बाँकी ३७ जनाको पनि अत्तोपत्तो छैन ।
त्रिशूली र नारायणीमा पानीको बहाव उच्च छ । सिमलतालबाट लेदोसहितको पहिरोले बगाएकै दिनदेखि खोजी कार्य चलिरहेको भए पनि बससँग सम्बन्धित सामग्री एउटा पर्दाबाहेक खोजी टोलीले केही पाउन सकेको छैन ।
‘भारतबाट आएका १२ जना र नेपालका सुरक्षाकर्मीको टोलीसहित गर्दा करिब ५०० जना उद्धार टोली नदी र किनारामा खोजिरहेको छ’, चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल प्रेससँग भने, ‘तर तीन दिनदेखि केही भेट्न नसक्दा हराइरहेका यात्रु भेटिने सम्भावना पनि कम भइरहेको हो कि भन्ने लाग्न थालेको छ ।’
तालिम प्राप्त टोली र प्रविधिसमेत हुँदा तीन दिनदेखि केही पनि नभेटिएपछि कति दिनसम्म खोजी गर्ने भन्ने पनि प्रश्न उठ्न थालिसकेको छ । भएसम्म आफन्तको शवसम्म भए पनि पाइए हुने नभए सरकारबाट सम्भावना छैन भन्ने जवाफ पाए आफन्तको सद्गत गर्न हुन्थ्यो भन्ने हराइरहेका यात्रुका आफन्तले भन्न थालिसकेका छन् ।
तर, खोजी कहिलेसम्म हुन्छ भन्ने जवाफ स्थानीय प्रशासनले दिन सकेको छैन । सरकारको अनुरोधमा केही सामग्री पानीमुनि देखिए रेकर्ड गरेर पछि हेर्न समेत सकिने आधुनिक प्रविधि सोनार क्यामरा लिएर आएका भारतीय टोली सात दिनसम्म खोजीमा संलग्न हुने जनाइएको छ ।
उनीहरु खोजीको लागि चितवन आएको तीन दिन भए पनि खोजी सुरु भने आइतबार गरेका थिए । तर, पानीको बहाव अत्यधिक भएको कारण खोजीमा समस्या भएको उनीहरुले पनि बताउँदै आएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी यादव यात्रुका आफन्त शवसम्म भए पनि हुन्थ्यो भनिरहेको बताउँछन् । उनले अबको चार दिन अझै भारतीय टोलीसहित खोजी गर्ने त्यसपछि भने मन्त्रालयसँग छलफल गरेरमात्रै निर्णय गर्न सकिने बताए ।
असार २७ गते भरतपुर- २९ सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले काठमाडौंबाट गौर जाँदै गरेको गणपती यातायातको ३६ यात्रु बोकेको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको २६ यात्रु बोकेको एञ्जल डिलक्स यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो । गणपती यातायातमा सवार तीन जनाले भने त्रिशूलीमा पौडिएर ज्यान जोगाएका थिए ।
बाँकी त्रिशूलीमा हराइरहेका २५ जनाको शव नारायणी किनार, भारतको बिहारको पश्चिम चम्पारणको नदी किनारका विभिन्न स्थानबाट भेटिएको छ । भेटिएकामध्ये दुई जनाको सोमबारसम्म पहिचान नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
अहिलेसम्मको प्रगति विवरण