सुदूरपश्चिममा विशेष अधिवेशन आज, सरकार सहभागी हुने सम्भावना क्षीण – Nepal Press

सुदूरपश्चिममा विशेष अधिवेशन आज, सरकार सहभागी हुने सम्भावना क्षीण

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेशका एक चौथाइ बढी सांसदहरूले विपद्को बेला सरकारलाई आवश्यक निर्देशन दिन आवश्यक रहेको भन्दै लिखित रुपमा अधिवेशन आह्वान गर्न आग्रह गरेका थिए ।

४ गते कांग्रेस र एमालेका २१ जना सांसदहरूले प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वानको आग्रह गरेका थिए । प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने संविधानको धारा १८३ मा व्यवस्था रहेको छ ।

उक्त व्यवस्था अनुसार प्रदेश प्रमुख मियाँले आज २ बजेको लागि बैठक आह्वान गरेका हुन् ।आजको बैठकमा सरकार सहभागी हुने सम्भावना भने न्यून रहेको छ । ‘अहिलेसम्म बैठकमा सहभागी नहुने कुरा छ’ सरकारका एक मन्त्रीले भने ।

हिजो साँझ कार्य व्यवस्था परामर्श समितिमा पनि सरकारका कुनै पनि मन्त्री सहभागी भएका थिएनन् । प्रदेश प्रमुख कार्यालयबाट अधिवेशनका लागि आएको पत्र अस्पष्ट भएको भन्दै तत्काल अर्को पत्र पठाउने विषयमा छलफल भएको थियो ।

असार १ गते सरकारले ल्याएको बजेट असार मसान्तसम्म पारित नभएपछि अहिले प्रदेश बेखर्ची भएको छ । सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको थियो ।तर, एक चौथाइ सांसदहरूले अधिवेशन माग गरेर अधिवेशन बोलाएपछि सरकारको अध्यादेश ल्याउने तयारीमा रोकिएको छ । आजको बैठकमा सरकार उपस्थित नभए बैठक सुचारु नहुने देखिन्छ ।

२० गते एमालेले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले अहिलेसम्म पनि विश्वासको मत लिने मिति निर्धारण गरेका छैनन् । १८ गते भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर