उद्योगमा लाइन जोड्नको लागि ड्राफ्ट तयार, ३ महिना भित्र पैसा उठाउने गरी तयारी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगमा लाइन जोड्नको लागि ड्राफ्ट तयार पारेको छ । बक्यौता तिर्न बाँकी रहेको उद्योगबाट ३ महिनाभित्र विद्युत बक्यौता उठाउने गरी लाइन जोड्नको लागि ड्राफ्ट तयार भएको हो । प्राधिकरण सञ्चालक समितिले तयार पारेको ड्राफ्टमा हस्ताक्षर गरेपछि लाइन जोड्न सुरु हुनेछ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले काटिएका उद्योगमा लाइन जोड्नका लागि ड्राफ्ट तयार भएको बताए । उनले भने, ‘काटिएका उद्योगमा लाइन जोड्ने ड्राफ्ट तयार तयार भएको छ । अब सञ्चालक समितिले हस्ताक्षर गरेपछि लाइन जोड्ने काम सुरु हुन्छ ।’
गत शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा विद्युत लाइन जोड्न निर्देशन दिएका थिए । तर, सञ्चालक समितिले लिखित निर्देशन नआई लाइन जोड्न नसकिने भनेपछि काम रोकिएको थियो ।
प्रधानमन्त्री ओलीले बालुवाटरमा उद्योगी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जामन्त्री दीपक खड्का, उद्योगी पशुपति मुरारका र उद्योग मन्त्री दामोदर भण्डारी राखेर समस्या सुनेका थिए ।
लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता उठाउने विषय विवाद हुँदै आएको छ । विद्युत प्राधिकरणले केही समयअघि ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काट्न सुरू गरेको थियो ।
यसअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन प्राधिकरणले काटिएको थियो । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ ।