११ दिनको सुत्केरी र बहिनीको निसास्सिएर मृत्यु
सुर्खेत । जुम्ला चन्द्रनाथ नगरपालिका–२ कालेखोलिमा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । बच्चालाई सेक्नका बालेको आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाटागाउँ कि २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीले जानकारी दिए ।
उनका अनुसार मायालक्ष्मी ११ दिनको सुत्केरी भएको बताए । उनले भने, ‘राति १० बजे कोठामा आगो बालेका रहिछन् । सानो कोठा र त्यसमा पनि कुनै झ्याल भ्यान्टिलेर नभएको कारणले घटना घट्न गएको हो । उनीहरुले राति आगो बालेर बच्चा सेकाएर भुइँमा सुताएछन् । आफू खाटमा सुतेछन् । धुवाँ कहि कतैबाट जाने ठाउँ नहुँदा निसास्सिएर मृत्यु हुन् पगेको हो ।’
मायालक्ष्मीको हिजो सोमबार र बहिनी जुनमायाको आज मंगलबार बिहान मृत्यु भएको कामतीले बताए । उनीहरुलाई उपचारका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याएको भएपनि उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ । साथै, ११ दिने बच्चाको अवस्था भने अहिले सामान्य रहेको छ ।