नेपालटारमा पैसा माग्दै हिँडेका सचिन परियारलाई प्रहरीले बाबुको जिम्मा लगायो
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बालक सचिन परियार हिजो विजोक अवस्थामा फेला परे । स्वास्थ्य अवस्था ठीक नभएका उनी नेपालटारमा मानिसहरुसँग ‘के छ हजुर ?’ भन्दै पैसा मागिरहेका थिए ।
पानीपुरी बेच्ने एक स्थानीय महिलाले उनलाई चिनेर सोधपुछ गरिन् । महिलाका अनुसार सचिनको हातमा एक–डेढ सय रुपैयाँ थियो । सचिनले भोक लागेको बताएपछि उनले पुरी र बदाम जुस खान दिइन् । लगत्तै सचिनले वान्ता गरे । सुरुवालभरि दिशापिसाब गरे । त्यसपछि उनलाई धोइपखाली गरेर राखिन् ।
केहीबेरमा स्थानीयबासीहरु जम्मा भए । उनीहरुले युट्युबर भोजराज थापालाई फोन गरे । थापा दगुर्दै आए । उनले सचिनसँग कुराकानी गरेर भिडिओ बनाए । भिडिओमा सचिनले आफूलाई बुबाले कुट्ने गरेको बताएका छन् । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आएर त्यहाँबाट सचिनलाई उठाएर बाइकमा लिएर हिँडे । उनलाई बालाजु वृत्तमा पुर्याइयो ।
डीएसपी रामकुमार दानीका अनुसार सचिनलाई हिजै बुबा तेजेन्द्र परियारको जिम्मा लगाइएको छ । प्रहरीले नै परियारलाई छोरा लिन बोलाएका थिए । सचिनका बुबा टोखामा बस्ने गर्छन् । बुबाले आफूलाई माग्न पठाउने गरेको सचिनले बताएका छन् ।
कलौटे नामले परिचित तेजेन्द्र परियार केही समयअघि काठमाडौंमा दोहोरी साँझको मालिक बनेको भन्दै भाइरल बनेका थिए । उनले एउटा म्युजिक भिडिओसमेत खेलेका थिए । तर, अहिले उनी पुरानै अवस्थामा फर्किएका छन् ।