तामाङ बाहुल्य बागमतीमा पहिलोपटक तामाङ मुख्यमन्त्री – Nepal Press

तामाङ बाहुल्य बागमतीमा पहिलोपटक तामाङ मुख्यमन्त्री

हेटौंडा । तामाङ समुदायको बाहुल्यता रहेको बागमती प्रदेशले पहिलो पटक तामाङ मुख्यमन्त्री पाएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका बहादुर सिंह लामा तामाङ समुदाय र काङ्ग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बनेका हुन् ।

२०२७ साल कात्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा जन्मिएका लामा यसअघि बागमती प्रदेशको आर्थिक मामिला मन्त्री भैसकेका छन् ।

प्रारम्भिक शिक्षा गाउँबाटै पूरा गरेर काठमाडौं छिरेका लामाले २०४३ सालमा काठमाडौको शंकरदेव क्याम्पसमा अध्ययकोलागि प्रवेश गरेसँगै नेपाल विद्यार्थी संघ(नेवि संघ) बाट आफ्नो राजनीतिक ‘करिअर’ सुरु गरेका हुन् । विद्यार्थी राजनीतिबाट काङ्ग्रेसको मुलधारको राजनीतिक यात्रामा प्रवेश गरेएता उनले काङ्ग्रेसको प्रभावशाली नेताहरु रहेको नुवाकोटबाट पार्टी केन्द्रीय सदस्य हुने अवसर प्राप्त गरेका थिए ।

वर्तमान पार्टी सभापति शेरबहादुर देउवा निकट लामाले २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका थिए ।

२०७९ मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि उनी संघिय सदस्यकै उम्मेदवारमा चर्चामा थिए । तर पार्टीले बागमतीको मुख्यमन्त्रीमा संभावना बोकेको उम्मेदवारको रुपमा उनलाई प्रदेशसभाको उम्मेदवार बनाएको थियो र उनले जित हासिल गरे ।

तर उनलाई बागमतीमा मुख्यमन्त्रीको लाईन क्लियर गर्न सहज भने थिएन । उनको बाटोमा कांग्रेस बागमती प्रदेशका प्रभावशाली नेता इन्द्रबहादुर बानिया खडा थिए ।

अघिल्लो कार्यकालमा तत्कालिन माओवादी–काङ्ग्रेस–समाजवादी गठवन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले बानियाँलाई मुख्यमन्त्री बनाउने गरि गरिएको लिखित सहमतिलाई समेत लत्याइदिएपछि बानियाँ मुख्यमन्त्री बन्न पाएका थिएनन् । सोही कारण २०८९ को निर्वाचनको कार्यक्रमहरुमा बानियाँलाई मुख्यमन्त्रीको उम्मेदवार भन्दै मत समेत मागिएको थियो ।

यस्तो अवस्थामा पार्टिको संसदीय दलको नेता बन्नु लामाको लागि निकै गार्हो थियो । तर कांग्रेस मकवानपुरमा देखिएको किचलो, मकवानपुरकै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिना सँग भएको राजनीति खटपटको र केन्द्रमा देउवासँग बढेको दूरीको कारण बानियाले लामासँग दलको नेतामा नै पराजित हुनुपर्यो र लामालाई अब मुख्यमन्त्रीको लागि अघि बढ्न सहज वातावरण निर्माण भयो ।

केन्द्रीय राजनीतिमा बेलाबेला भैरहने उथलपुथलको कारण प्रदेशको ठूलो पार्टी हुँदा समेत मुख्यमन्त्रीको अवसर नपाएका लामाको लागि असार १७ मा केन्द्रमा एमाले– काङ्ग्रेसको नयाँ गठवन्धन भएसँगै प्रदेशमा मुख्यमन्त्रीको ढोका खुल्यो र फलस्वरुप आज मुख्यमन्त्री चयन भए ।

यस्तो छ बागमती प्रदेशमा जातीय अवस्था

नेपाल सरकारले २०७८ मा गरेको जनगणनाअनुसार बाग्मती प्रदेशको जनसङ्ख्या ६१ लाख १६ हजार ८६६ जना रहेको छ जसमा ३० लाख ६८ हजार १८२ महिला र ३० लाख ४८ हजार ६८४ पुरुष रहेका छन् । यस प्रदेशको जनसंख्याको नेपालको कुल जनसंख्याको २०.९७ प्रतिशत रहेको छ भने यस प्रदेश देशको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश समेत हो ।

बागमती प्रदेशमा सबैभन्दा धेरै तामाङ जातिको बाहुल्यता रहेको जनगणनाले देखाएको छ । यहाँ १९.९ प्रतिशत तामाङ जातिको बसोबास रहेको छ ।

दोस्रो नम्बरमा ब्राह्मण (पहाड) को जनसंख्या १७.८, क्षेत्रीको १७.४ र चौथो स्थानमा रहेको नेवारको जनसंख्या १५.६ प्रतिशत रहेको छ । बागमतीमा ५.१ मगर, २.७ विश्वकर्मा, २.३ गुरुङ, १.८ राई, १.८ थारु तथा १.५ प्रतिशत परियार बसोबास गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर