प्राधिकरणले काटेको ६ उद्योगमा विद्युत् लाइन जाेडियाे
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत लाइन जडान गरेको छ ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै आज साँझ ८ बजेदेखि विद्युत जडान भएको हो ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेसँगै प्राधिकरणले आज रातिदेखि उक्त उद्योगमा विद्युत जडान गरेको हो । ‘उद्योगीले पनि वक्यौता रकम तिर्नुपर्छ, प्राधिकरणले पनि लाइन काट्न हुँदैन’, मन्त्री खड्काले भने ।
प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।
उद्योगहरुले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्योगीको लाइन जोडेर बाँकी समस्या वार्ता र छलफलद्धारा समाधान गर्न निर्देशन दिएका थिए ।