बंगलादेशबाट मंगलबार ४७ विद्यार्थी स्वदेश फिर्ता
काठमाडौं । आज बंगलादेशबाट नेपाल फिर्ने विद्यार्थीको संख्या ४७ पुगेको छ । परराष्ट्र मन्त्रालयले अद्यावधी गरेको तथ्यांकअनुसार मंगलबार आएका सबै विद्यार्थीहरु सीधा हवाईमार्ग भएर आएका हुन् ।
अहिलेसम्म ढाकास्थित नेपाली राजदूतावासको पहलमा १४०० नेपाली विद्यार्थी स्वदेश फर्केका छन् । बंगलादेशमा जेठ अन्तिमबाट उग्र भएको विद्यार्थी आन्दोलन भएर नेपाली अलमलमा परेका थिए ।
१५० बढीको ज्यान लिने आन्दोलन आरक्षण रोधी आन्दोलन थियो । आइतबार बंगलादेशको सर्वोच्च अदालतले कोटा खारेज गरेर ५६ प्रतिशतबाट ७ प्रतिशतमा झारेपछि आन्दोलन स्थगित भएको छ । तर, अन्त्य भएको छैन । अहिले पनि इन्टर्नेट बन्द र कर्फ्यू जारी छ ।