लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रीले आज बिहान शपथ लिँदै, अधिकांश नयाँ अनुहार – Nepal Press

लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रीले आज बिहान शपथ लिँदै, अधिकांश नयाँ अनुहार

रुपन्देही । लुम्बिनी प्रदेशमा सोमबार नियुक्त भएका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले कांग्रेसका १० मन्त्रीहरुको शपथ ग्रहण आज बिहान हुने भएको छ ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । सोमबार मुख्यमन्त्रीको नियुक्ति भएपनि दुवै दलबाट मन्त्री हुने आकांक्षी बढी भएकाले बुधबारलाई शपथको समय सारिएको हो । मंगलबार राती मात्रै दुवै दलले मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

एमालेका केन्द्रीय सदस्य तथा मन्त्रीमा नाम सिफारिस भएका भूमिश्वर ढकालका अनुसार मन्त्री हुनेहरुमा यसअघि नेकपा माओवादी केन्द्रसंगको गठबन्धनमा मन्त्री भएका २ जना मन्त्री भए भने उक्त मन्त्री परिषदका २ जना बाहिरिएका छन् । यसपटक मन्त्री दोहोरिनेमा रुपन्देहीका भुमिश्वर ढकाल र गुल्मीका दिनेश पन्थी हुन् ।

ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री थिए । त्यसैगरी पाल्पाका खेमबहादुर सारु र दाङकी सीता शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् ।

यसैगरी नेपाली कांग्रेसबाट पनि ५ मन्त्रीले सँगै शपथ लिनेछन् । मंगलबार राती कांग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको मन्त्रीमा सिफारिस रोज राणाले जनाए । कांग्रेसले यसअघि प्रमुख सचेतक रहेका तिमिल्सिनाको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको हो ।

दुवै दलले आज मन्त्री छान्न ढिलाई गरेकाले बुधबार बिहान बिनाविभागीय रुपमा शपथ लिने र बिहीबार मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुनु् भने अरु सबै नयाँ हुन् ।

लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएपनि अहिलेसम्म कतै सहभागी छैनन् तर उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर