ओलम्पिक फुटबलको पहिलो म्याचमै हंगामा : दुई घन्टापछि गोल अवैध, दर्शक निकालेर ३ मिनेट खेलाइयो – Nepal Press

ओलम्पिक फुटबलको पहिलो म्याचमै हंगामा : दुई घन्टापछि गोल अवैध, दर्शक निकालेर ३ मिनेट खेलाइयो

अर्जेन्टिना-मोरक्को बीचको ‘असाधारण’ म्याचको नालीबेली

काठमाडौं । फ्रान्सको पेरिसमा ओलम्पिक गेम्सको अनौपचारिक सुरूवात नै असाधारण तरिकाले भएको छ । ओलम्पिकको औपचारिक उद्घाटन हुनुभन्दा दुई दिनअघि भएको पहिलो फुटबल म्याच कोलाहलपूर्ण बन्यो ।

इन्जुरी टाइमको अन्तिम क्षणमा अर्जेन्टिनाले गोल गरेपश्चात खेल २-२ को बराबरीमा रोकिएको थियो । गोलको सेलिब्रेसनपछि खेल सकिएको ठानेर सबै खेलाडी ड्रेसिङ रुमतिर लागे । तर, करिब दुई घन्टापछि खाली रंगशालामा फेरि रेफ्रिहरू देखापरे । उनीहरूले अर्जेन्टिनाले गरेको अन्तिम गोललाई भार रिभ्यूबाट अमान्य घोषणा गरे । यतिमात्र नभएर थप ३ मिनेट खेल खेलाए ।

अहिलेसम्म फुटबलमा कहिल्यै नदेखिएको दृष्य थियो यो । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले पनि सामाजिक सञ्जालमा ‘असामान्य’ भन्दै टिप्पणी गरेका छन् । यस्तो छ, कन्ट्रोभर्सीको नालीबेली :

खेल सुरू हुनुभन्दा अगाडि अर्जेन्टिनाको राष्ट्रिय धुन बजिरहँदा रंगशालामा उपस्थित दर्शकहरूले हुटिङ गरेका थिए । यसको कारण थियो, हालै कोपा अमेरिका कप जितेपछि अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज तथा उनका साथीहरूले गाएको फ्रान्सविरोधी गीत । फ्रान्सका खेलाडीहरूलाई होच्याउने खालको गीत गाउँदै सेलिब्रेसन गरेको भिडिओ सामाजिक सञ्जालमा हालेका फर्नान्डेजले पछि माफी मागेका थिए । आफ्नो घरेलु मैदानमा आयोजित खेलमा फ्रेन्च दर्शकले त्यही घटना सम्झेर अर्जेन्टिनाको राष्ट्रिय धुनलाई अपमानित गरेका थिए । यद्यपि, खेल निर्धारित समयमा सामान्यरूपमै सुरू भयो ।

खेलको ४५ औं मिनेटमा अर्जेन्टिनालाई स्तब्ध पार्दै मोरक्कोका सोफियान रहिमीले पहिलो गोल गरे । मध्यान्तरपछि खेलको ५१ औं मिनेटमा पेनाल्टीमार्फत उनले अर्को गोल थप्दै खेल २-० मा पुर्‍याए । विश्व च्याम्पियन अर्जेन्टिना पराजयको बाटोमा देखियो । तर, ६८ औं मिनेटमा अर्जेन्टिनाको गिउलियानो सिमेउनले एक गोल फर्काउन सफल भएपछि खेल रोमाञ्चक बन्यो ।

९० मिनेटको नियमित समय सकिएपछि इन्जुरी टाइम भनेर १५ मिनेट थप गरियो । खेलको बीचमा धेरै नै समय खेर फ्याकिँएको हुँदा यति लामो समय थपिएको थियो । इन्जुरी टाइमको १५ मिनेट पनि सकिएपछि अन्तिम पलमा अर्जेन्टिनाले थप एक गोल हिर्कायो । क्रिस्टियन मेडिनाले बललाई जाली चुमाएपश्चत खेल २-२ को बराबरी भयो र अर्जेन्टिनी खेलाडीहरू सेलिब्रेसन गर्न थाले ।

यता दर्शक दिर्घाबाट हो-हल्ला सुरू भयो । अर्जेन्टिनी खेलाडीहरू तथा अफिसियललाई लक्षित गर्दै दर्शकले पानीको बोतल र कपहरू फ्याँक्न थाले । मैदानमा पटाखाहरू समेत भेटिए । मोरक्कोको जर्सी लगाएका केही फ्यानहरू मैदानभित्रै पसे, उनीहरूलाई ग्राउन्ड स्टाफहरूले लखेटे । दंगा प्रहरीहरू पनि आए र रेफ्रीले खेलाडीहरूलाई तत्काल मैदानबाहिर जान भने । दर्शकहरूलाई रंगशालाबाट निस्किन उर्दी गरियो । रंगशालाको बिग स्क्रिनमा लेखिएको थियो- तपाईंको सेसन सस्पेन्ड गरिएको छ र कृपया नजिकैको एक्जिटबाट आफ्नो बाटो लाग्नुहोला ।

इन्जुरी टाइम पनि सकिइसकेको हुँदा खेल बराबरीमा अन्त्य भएको सबैले सम्झिएका थिए । दर्शक पनि रंगशालाबाट बाहिरिए । तर, पछि थाहा भयो कि सबै दर्शक निस्केपछि खाली रंगशालामा तीन मिनेट खेल खेलाइनेछ । अघि खेल सकिएको नभएर सस्पेन्डमा राखिएको थियो भन्ने जानकारी गराइयो ।

स्थानीय समयअनुसार ४:०५ मा खेलाडीहरू खेल बराबरीमा सकिएको ठानेर मैदानबाट बाहिरिएका थिए । रेफ्रीले बोलाएपछि ५:४५ मा फेरि उनीहरू मैदानमा प्रवेश गरे । ६:०० बजे फेरि खेल सुचारु भयो । दुवै टीम तीन मिनेटमा एक गोल हानेर जित निकाल्ने योजनामा थिए ।

तर, खेल सुरू हुनुअगाडि अर्जेन्टिनाले इन्जुरी टाइममा गरेको बराबरी गोललाई भार (भिडिओ असिस्टेन्ट रेफ्री) ले मान्यता नदिएको घोषणा गरियो । अजेन्टिनी खेलाडी तथा फ्यान स्तब्ध बने । भारले उक्त गोललाई अफसाइड देखाएको थियो । रिभ्यूमा हेर्दा मेडिनाभन्दा अगाडि एक खेलाडी अफसाइड पोजिसनमा देखिए । खेल फेरि २-१ को अवस्थामा फर्कियो ।

पछि खेलाइएको ३ मिनेटमा दुवै तर्फबाट कुनै पनि गोल हुन सकेन । मोरक्कोले २-१ ले खेल जित्यो ।

स्मरणीय छ कि ओलम्पिकमा अर्जेन्टिनाका मेस्सीलगायत चर्चित खेलाडीहरू छैनन् । ओलम्पिकको नियमअनुसार कुनै पनि टीमले २३ वर्षमाथिका ३ जना खेलाडीमात्रै खेलाउन सक्छन् । अर्जेन्टिनाबाट जुलियन अल्भारेज र निकोलस ओटामेन्डीले खेलेका थिए । विश्वचर्चित स्ट्राइकर असरफ हाकिमी मोरक्कोको टीममा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर