सांसद डा. सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने फाइल महान्यायधिवक्ता कार्यालयमा – Nepal Press

सांसद डा. सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने फाइल महान्यायधिवक्ता कार्यालयमा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सांसद सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने निर्णयको फाइल महान्यायधिवक्ता कार्यालय पुगेको छ ।

महान्यायधिवक्ता कार्यालयले पनि नचलाउने निर्णय गरे सुनिलले यो मुद्दाबाट छुट्कारा पाउनेछन् । यसअघि नक्कली शैक्षिक प्रमाण पत्र भेटिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक वर्षअघि शर्मालाई पक्राउ गरेको छ । सीआईबीले अप्रेसन ‘फक्सट्रट चार्ली’ नाम दिएर सञ्चालन गरेको अप्रेसनमा अन्य थुप्रै चिकित्सकहरू पनि नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा पक्राउ परेका थिए ।

पक्राउ परेको केही दिनमै जिल्ला अदालतले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिन अस्वीकार गरेको थियो । शर्मा काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक हुन् । उनी मोरङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले मुद्दा नचल्ने भनी फाइल आइपुगेपनि निर्णय हुन बाँकी रहेको बताए ।

‘सहन्यायधिवक्ता, नायव महान्यायधिवक्ता हुँदै महान्यायधिवक्ताकहाँ फाइल पुग्छ । अहिलेसम्म फाइल नायव महान्यायधिवक्ताकहाँ छ’, प्रवक्ता दाहालले भने । यसअघि सीआईबीको रायपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयको निर्णयलाई उच्च सरकारी वकिल कार्यालयले पनि सदर गरेर महान्यायधिवक्ता कार्यालयलाई ‘फर्वार्ड’ गरेको थियो । शर्माले एमबीबिएस अध्ययन गर्दा पेश गरेको आईएसस्सीको शैक्षिक प्रमाणपत्र शंकास्पद भएको भन्दै सीआईबीले उनलाई नियन्त्रणमा लिएको थियो ।

स्रोतका अनुसार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्रमा विगतमा ठगीसम्बन्धी कसुर स्थापित नभएको,हदम्याद गुज्रिएको लगायत विषयलाई कारण देखाएको छ । यसअघि सीआईबीले अनुसन्धानका क्रममा शर्माको आईएसस्सीको शैक्षिक प्रमाणपत्रको विवरण राष्ट्रिय परीक्षा बोर्डले फेला नपरेको जवाफ पठाएको उल्लेख गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *