यति एयरलायन्सको विमान दुर्घटनाको छानबिन प्रतिवेदन एक साताभित्र उपलब्ध गराउन निर्देशन – Nepal Press

यति एयरलायन्सको विमान दुर्घटनाको छानबिन प्रतिवेदन एक साताभित्र उपलब्ध गराउन निर्देशन

काठमाडौं । २०७९ माघ १ गते पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना सम्बन्धमा गठित छानबिन समितिले पेश गरेको प्रतिवेदन एक साता भित्र उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

बैठकले नागरिक उड्डयन सम्बन्धमा नियमन र सेवा प्रदायक सम्बन्धी विधेयकको वर्तमान अवस्था समितिलाई तत्काल उपलब्ध गराउन, आईकाओको नेपाल सम्बन्धमा पछिल्लो समय प्रकाशित लेखा परीक्षण प्रतिवेदन एक साता भित्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको समिति सचिव बबिता मिश्रले जानकारी दिइन् ।

उनका अनुसार इयुले सन २०२३ मा नेपालमा गरेको अनसाइटको प्रतिवेदनमा औँल्याइएका विषयमा नेपालले कहिलेसम्म सुधार गरिसक्छ, त्यसको लागि स्पष्ट कार्य योजना समितिमा तत्काल पेश गर्न निर्देशन दिएको छ ।

समितिले नेपाल वायुसेवाले हाल कोरियामा उडान गर्न नपाइरहेको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, त्यस सम्बन्धमा अपनाउनुपर्ने रणनीति समितिलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेका पसल कवलसँग भएका सम्झौता, पसल कवल सञ्चालनमा रहेका समस्या एवं समाधानका उपाय सहितको योजना एक साता भित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको छ ।

बैठकमा युरोपियन युनियन एयर सेप्टी लिस्ट तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अहिलेसम्मको कार्य प्रगति तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भाडामा रहेका पसल कवलको सम्झौता लगायतका विषयमा छलफल भएको छ ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला लगायतका पदाधिकारी सहभागी थिए । समितिले नवनियुक्त पर्यटन मन्त्री पाण्डेलाई स्वागत तथा बधाई सँगै सफल कार्यकालको शुभकामना पनि दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *