नेकपा एसको केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि मापदण्ड कसिलो बनाउने प्रयास – Nepal Press

नेकपा एसको केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि मापदण्ड कसिलो बनाउने प्रयास

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक साउन १४ गतेसम्मका निम्ति स्थगित भएको छ।बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले साउन १४ गते पुनः बस्ने गरी स्थगित भएको हो।

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता गर्नेबारे बनाइएको मापदण्डका बारेमा छलफल भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

यसअघि बनाइएको मापदण्डले केन्द्रीय सदस्य चयन गर्न नसकेपछि थप छलफल गर्नुपरेको अध्यक्ष माधव नेपाल सम्बोधनको क्रममा बताएका थिए।

उनले भने, ‘हामीले थप प्रष्ट मापदण्ड तयार गर्नुपर्ने हुन्छ । हामीले एउटा मापदण्ड बनाइसकेका छौँ त्यसले पुगिरहेको छैन । त्यसैले त्यसमा अरू कुरा जोडेर भए पनि मापदण्डहरू परिमार्जन गर्न आवश्यक छ ।’

केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ ।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने तयारी छ ।

पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्‍याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ । केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले टुंग्याउन सकस परेको छ ।

हालै भएको महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्‍याएको थियो । भने ९३ सदस्यीय केन्द्रीय कमिटी छानेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर