संसदीय दलको नेता फेर्ने रेशम पक्षको निर्णयमा ‘ब्रेक’, रञ्जितानिकटका धर्मलाई सहज – Nepal Press
लुम्बिनी

संसदीय दलको नेता फेर्ने रेशम पक्षको निर्णयमा ‘ब्रेक’, रञ्जितानिकटका धर्मलाई सहज

रूपन्देही । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई लुम्बिनी प्रदेशमा झट्का लागेको छ । प्रदेश संसदीय दलको नेता फेरेर आफ्नो पक्षमा पार्ने निर्णय प्रदेश सभाले रोकेपछि उनलाई झट्का लागेको हो ।

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस भएको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछि दल नेता फेर्ने निर्णय असफल भएको हो ।

प्रदेश सभाले बिहीवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै छन् । दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेकी छन् ।

संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक फेर्ने निर्णय गरेर प्रदेश सभा सदस्य राजकुमार चौधरीले आफूलाई संसदीय दलको नेता तोकेर निवेदन पेश गरेका थिए । तर, त्यो निवेदनलाई प्रदेश सभाले मान्यता दिएन ।

सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभामा प्राप्त भएको निवेदन र निर्णयहरुलाई अध्ययन गर्दा शंकास्पद भएको भन्दै मान्यता नदिएको बताए ।‘निर्णय पुस्तिका पनि शंकास्पद छ । निवेदनमा पनि विधान अनुसारको दफाहरु कुनै तोकिएको छैन’सभामुख घर्तीले भने,‘नयाँ पत्र पेश गर्न भनेर फिर्ता पठाएका छौं ।’

संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरणसहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो । बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको उल्लेख थियो ।

तर दलका नेता धर्म चौधरीले यसलाई अवैध भनेका थिए । उनले बहुमत पक्ष आफूहरू सँगै भएको र निर्मलादेवी थारूलाई जबरजस्ती हस्ताक्षर गराएको जनाएका थिए । एमालेकांग्रेसको गठबन्धन सरकारमा आफू सहभागी हुने उनले जनाएका छन् । ४ सांसद रहेको लुम्बिनीमा ३ सांसदहरू आफूतिर रहेको दावी उनको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर