शेयर र घरजग्गाको बढ्दो कारोबार- होला त अर्थतन्त्र सुधार ? – Nepal Press

शेयर र घरजग्गाको बढ्दो कारोबार- होला त अर्थतन्त्र सुधार ?

कस्तो रह्यो २०८०/८१ मा शेयर र घरजग्गा कारोबार ?

काठमाडौं । साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वसको मत लिँदै गर्दा नेप्से २७ महिना यताकै उच्च भएको बताए । ओलीले ‘अब शेयरबजार मात्रै नभएर पूरै देश नै चलायमान हुने’ अभिव्यक्ति संसदमै दिए ।

दुई ठूला दल कांग्रेस-एमालेबीचको सत्ता समीकरणसँगै राजनीतिक स्थिरता हुने जनताको आश र पूँजीबजारमैत्री अर्थमन्त्रीलगायतका कारण बजार हौसिएको लगानीकर्ता तथा उद्यमी/व्यवसायी सुनाउँछन् । आर्थिक वर्ष २०८०/८१ को सुरूवातबाटै ओरालो झरेको शेयर बजारमा अन्तिमतिर तीव्र उछालले यसलाई पुष्टि गरेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना असार नेप्से परिसूचक १११.०५ अंकले ओरालो झरेको थियो भने, अन्तिम महिना असार (२०८०) मा १४४.४६ अंकले उछाल देखिएको छ ।

यता गत आर्थिक वर्ष २०८०/८१ को सुरूवाती महिनामा घरजग्गा कारोबारका ३९ हजार २६३ लिखित पारित भएका थिए । अन्तिम महिना असारमा ४६ हजार १७९ लिखित पारित भएका छन् ।

घरजग्गा कारोबारबाट सरकारले आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार १९६ रुपैयाँ राजस्व संकलन गर्‍यो भने, अन्तिम महिना असार (२०८१) मा ४ अर्ब ६१ करोड २५ लाख ५३ हजार ४३१ रूपैयाँ राजस्व संकलन गर्‍यो । एक वर्षमा सरकारले ४१ अर्ब ९९ करोड ९२ लाख ८१ हजार रूपैयाँ राजस्व संकलन घरजग्गा कारोबारबाटै गरेको छ ।

प्रधानमन्त्रीले संसदमा दिएको प्रतिक्रियाकै दिन अर्थात् गत आइतबारमात्रै अर्थमन्त्रालयका कर्मचारीहरूले देशको अर्थतन्त्रमा देखिएका ४६ वटा चुनौती र २९ समाधानका उपाय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष ब्रिफिङ गराएका थिए ।

मन्त्रालयले साधन-स्रोतको उपलब्धता, सार्वजनिक खर्च, बैंकिङ क्षेत्र, विकास पूर्वाधार, बाह्य क्षेत्र, आर्थिक वृद्धि, उपभोग र लगानी, वित्तीय क्षेत्र, आयात/निर्यातलगायतका विभिन्न ४६ वटा चुनौतीहरू पहिचान गरेको छ ।

मन्त्रालयले सार्वजनिक खर्चलाई प्राथमिकीकरण गर्ने, वित्त सुदृढीकरण, उत्पादनमा आधारित राजस्व, ऋणको उपयोग, वित्त जोखिम, लगानीको वातावरण, उत्पादनशील क्षेत्र, प्रत्यक्ष वैदेशिक लगानी, उत्पादन तथा प्रसारणलाइन विस्तार, गुणस्तरीय सडक, कृषि उत्पादन र बजारीकरण, पुँजीगत खर्च, प्रशासनिक खर्च, आर्थिक पूर्वाधारमा केन्द्रित, बहुवर्षीय ठेक्का, वैदेशिक अनुदान र सहुलीयतपूर्ण ऋण लगायत पक्षहरुमा जोड दिनेलगायत कार्यदिशा अबलम्बन गर्नुपर्ने औंल्याएको थियो ।

शेयरबजारकै उछाललाई आधार मान्दै समग्र अर्थतन्त्र नै सुधार भइरहको संकेत गर्न खोजिएको पनि तर्क गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्तिमतिर मात्रै बजारमा उत्साह देखिएको र बजारमा उक्त उत्साह लामो समयसम्म टिक्ने लगानीकर्ताहरूको प्रक्षेपण छ ।

अहिले शेयर बजारको रौनकमा लगानीकर्ताहरू रुमलिएको स्वतन्त्र पुँजी बजार सङ्घका अध्यक्ष रोहन कार्की बताउँछन् । उनका अनुसार बजारको उत्साहले लगानीकर्ताहरूमा उत्प्रेरण जगाएको छ । कार्की भन्छन, ‘सुरुवाती समयमा बजारमा उत्साह नदेखिए पनि अहिले बजारको उत्साह बढेको छ । त्यसैले विगतका वर्षभन्दा यस वर्ष पुँजी बजारमा सम्भावना राम्रो रहेको छ । र, मौद्रिक नीतिबाट आशावादी रहेका छौं ।’

शेयरबजार र घरजग्गा कारोबारलाई हेरेरै देशको अर्थतन्त्र सुधार भएको भन्न नमिल्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । उनका अनुसार वास्तविक छविलाई लुकाएर अहिले बजार शेयरबजार र घरजग्गा कारोबारमा रुमलिरहेको छ ।

अध्यक्ष रवि सिंह भन्छन्, ‘अहिले बजारलाई विना कुनै कारण बढाएर एक खालको भ्रम छर्न छोजिएको छ । शेयरबजारलाई पनि केही स्वार्थ समुहले लागेर एक एक बढाइरहेका छन् । जसको कुनै तुक छैन् । किनभने, अहिले कुनैपनि कम्पनी अथवा संस्थाले नाफा दिएर शेयरबजार बढेको होइन् । शेयरबजारसम्बन्धी विज्ञ नभएपनि कारणले शेयरजार बढ्नु र विना कारण कुनै स्वार्थले बढ्नेकुरा बुझिन्छ ।’

नयाँ सरकारप्रति एक खालको आशा हुनु स्वाभाविक रहेको तर, अनुमनका आधारमा कुनैपनि क्षेत्रमा उछाल हुनु अस्वाभाविक रहेको अध्यक्ष सिंहको भनाइ छ ।

आर्थिक वर्ष ७८/७९ मा घरजग्गा कारोबार घटेको र आर्थिक २०८०/८१ मा बढेको नेपाल घरजग्गा व्यवसायी तथा आवास विकास समितिका अध्यक्ष भेषराज लोहनी बताउँछन् । संख्यामा केही घटेको जस्तो देखिए तापनि कारोबारमा भने बढोत्तरी भएको छ ।

लोहनी भन्छन्, ‘पछिल्लो दुई वर्षमा घरजग्गा कारोबारमा केही गिरावटजस्तो देखिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा पनि संख्यात्मकरूपमा घरजग्गा कारोबारमा बढोत्तरी नभएजस्तो देखिएको छ । तर, कारोबार हेर्ने हो भने, यस क्षेत्रमा गिरावट भएको देखिदैन् ।’

‘यस वर्षमा घरजग्गा कारोबार सहर उन्मुख क्षेत्रमा बढी भएको देख्न सकिन्छ । सुविधा सम्पन्न क्षेत्रतर्फ मानिसहरू आकर्षित हुँदै गएकाले सहर उन्मुख क्षेत्रतर्फ कारोबार बढी भएको देखिन्छ ।

सरकारले पनि घरजग्गा कारोबारबाटै वार्षिक रूपमा ४० अर्ब देखि ४५ अर्बसम्म राजस्व उठाउने गर्दछ’, उनले भने, ‘घरजग्गा कारोबार भनेको एकै चोटि माथि जाने र तल खस्कने होइन । त्यसैले यतातिरको लगानी दीर्घकालीन हुने गर्दछ । अहिलेको अवस्थालाई हेर्दा घरजग्गा कारोबारमा बढोत्तरी हुने नै देखिन्छ । त्यो अनुसारको बजार पनि बनिरहेको देख्न सकिन्छ ।’

२०८०/८१ मा घरजग्गा कारोबार र राजस्व संकलनको अवस्था

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ३९ हजार २६३ वटा घरजग्गा कारोबार भएको थियो । जसबापत सरकारले २ अर्ब ९१ करोड ४ लाख २७ हजार १९६ रूपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै, भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा कारोबार हुँदा सरकारले ३ अर्ब ४ करोड ५९ लाख ४६ हजार ८११ रूपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

असोजमा घरजग्गा कारोबारबाट ४ अर्ब ८ करोड ६६ लाख २९ हजार ४३७ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । असोजमा ३९ हजार ८८१ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो ।

कात्तिकसम्म आइपुग्दा २६ हजार ४६ घरजग्गा कारोबार हुँदा २ अर्ब १६ करोड ३८ लाख ६७ हजार ५६४ रूपैयाँ राजस्व सरकारको खातामा जम्मा भएको थियो ।

मङ्सिर महिनामा कुल ४१ हजार ८५१ घरजग्गा कारोबारका लागि लिखित पारित भएका छन् । भने, सरकाले घरजग्गाकै कारोबारबाट मंसिर महिनामा २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रूपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा मात्रै सरकारले घरजग्गा कारोबारबाटै ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस पुस महिनामा देशभर ४५ हजार २७५ लिखित पारित भएका छन् । माघ महिनामा मात्रै देशभर ५० हजार ९२१ लिखित पारित भएको छ । जसबापत सरकाले ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । फागुन महिनासम्म आइपुग्दा घरजग्गा कारोबारमा देशभर ५० हजार ९९८ वटा लिखित पारित भएका छन् । जसबापत नेपाल सरकारले ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार ८१ रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै, चैत महिनामा मात्रै कुल ५० हजार २५२ वटा लिखित पारित भएका छन् । भने, सरकारले चैतमा घरजग्गा कारोबारबाट मात्रै ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार ८१६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । वैशाखसम्म आइपुग्दा कारोबार ४९ हजार ७८२ मा झरेको छ । वैशाख महिनामा मात्रै सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ८६ करोड ३८ लाख १६ हजार २६६ रुपैयाँ राजस्व उठेको छ ।

जेठमा आवको सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ । यो महिनामा ६१ हजार १६१ लिखित पारित भएका छन् भने, सरकारले सबैभन्दा राजस्व ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार ७६९ रुपैयाँ संकलन भएको छ । असारमा भने, करिब १५ हजारले घटेको छ । असार महिनामा कुल ४६ हजार १७९ लिखित पारित भएका हुँदा ४ अर्ब ६१ करोड २५ लाख ५३ हजार ४३१ रूपैयाँ राजस्व उठेको छ ।

एक वर्षमा नेप्से परिसूचकको उछाल र कारोबारः

आर्थिक वर्ष २०८०/८१ मा नेप्से परिसूचक १४३.८८ अङ्कले बढेको छ । आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन अर्थात् असार ३१ गते २०९७.०४ विन्दुमा बन्द भएको नेप्से परिसूचक २०८०/८१ को अन्तिम दिन असार ३१ गते २२४०.४१ को विन्दुमा बन्द भएको हो । एक वर्षमा शेयर बजारमा करिब डेढ सय अंकको वृद्धि देखिएको छ ।

कुन महिनामा कति बढ्यो शेयर बजार ?

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा नेप्से परिसूचक १११.०५ घटेको देखिन्छ । जहाँ एक महिनामा शेयर बजारको कारोबार ६० अर्ब ५६ करोड रूपैयाँ बढी थियो । भदौमा कारोबार रकम पनि घटेको देखिन्छ । यो महिना ४६.२ अंकले घटेको शेयर बजारमा २० अर्ब ९५ करोड रूपैयाँको कारोबार भएको थियो । असोज महिनासम्म आइपुग्दा १०४.५६ अंकले बढेको थियो । असोजमा ५२ अर्ब ४९ करोड रूपैयाँको शेयर कारोबार भएको थियो ।

कात्तिकमा नेप्से परिसूचक ८६.७५ अंकले बढ्दा ४६ अर्ब ४२ करोड रूपैयाँको कारोबार भयो । मंसिरमा १४१.१२ विन्दु बढ्दा ३६ अर्ब २१ करोड कारोबार भयो । पुसमा नेप्से ९७.८ अंकले बढेको थियो । ९७ अर्ब ३ करोड रूपैयाँको खरिदबिक्री भयो ।

माघमा पुन: गिरावट देखियो । नेप्से ७४.०१ अंकले घट्दा कारोबार पनि ९७ अर्ब ३६ करोड रूपैयाँको भएको थियो । फागुन महिनामा शेयर बजारमा केही सुधार देखियो । फागुन महिनामा नेप्से ३८.१३ अंकले बढेर ६१ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको थियो ।

चैत महिनामा पुन: शेयर बजारमा गिरावट भयो । यो महिना ५५.५७ अंकले घटेको बजारमा ५७ अर्ब २२ करोड रूपैयाँको कारोबार भयो । वैशाख महिनामा पनि शेयर बजारमा गिरावट देखियो । यस महिनामा नेप्से ५२.८१ अंकले घट्दा घटे पनि कारोबार रकम भने बढेको देखिन्छ । वैशाखमा १ खर्ब १२ अर्ब १३ करोड रूपैयाँको कारोबार भएको थियो ।

जेठ महिनामा भने, शेयर बजारमा उत्साहजनक वृद्धि भएको देखिन्छ । ८४.७८ अंकले बढ्दा १ खर्ब बढीको कारोबार भयो ।

आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिनामा अर्थात् असार महिनामा नेप्से १४४.४६ अंकले बढ्यो भने १ खर्ब ६ करोडको कारोबार भयो ।

शेयर बजारको बढ्दो उत्साहले बिस्तारै घरजग्गा कारोबारमा प्रभाव पार्ने नेपाल घरजग्गा व्यवसायी तथा आवास विकास समितिका अध्यक्ष भेषराज लोहानी बताउँछन् । उनका अनुसार पुँजी बजारको हरियालीले घरजग्गा कारोबारमा सकारात्मक प्रभाव पार्छ ।

अध्यक्ष भेषराज लोहानी भन्छ, ‘शेयर बजारको उछालले घरजग्गा कारोबारमा तत्काल प्रभाव गर्दैन । शेयर बजार जस्तो छिटो प्रतिक्रिया दिने क्षेत्र होइन घरजग्गा । तर, पनि शेयर बजारको उछालले लगानीकर्ताहरूलाई उत्प्रेरित गरेको छ । जहाँसम्म प्रभावको कुरा छ । यसले सकारात्मक प्रभाव नै पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *