गौशाला २६ को पत्रलाई नमान्ने महान्यायाधिवक्ता कार्यालयको अड्डी, सन्दीप पक्ष भन्छ- पुनरावेदनको ग्राउन्ड सकियो
जाहेरीकर्ताले पुनरावेदन नगरौं भन्न नमिल्ने सरकारी वकिल कार्यालयको तर्क, सरकारी स्रोत-साधन दुरुपयोग नगर्न सन्दीप पक्षको सुझाव
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आफूले हालेको मुद्दालाई थप अगाडि नबढाउने गौशाला २६ ले निर्णय लिएपछि उब्जेको प्रश्न हो, के अब यो मुद्दा समाप्त भयो ? गौशाला २६ ले महान्यायाधिवक्ताको कार्यालय र उच्च सरकारी वकिलको कार्यालयमा पत्र बुझाउँदै आफ्नो तर्फबाट मुद्दाबाट हात झिकेकी छन् ।
दुवै कार्यालयमा उनले एउटै व्यहोराको पत्र बुझाएकी हुन् । उनी हस्तलिखित निवेदन बोकेर तीन दिनअगाडि उच्च सरकारी वकिल कार्यालयमा पुगेकी थिइन् । तर, त्यस दिन उनको पत्र दर्ता गरिएन । सरकारी वकिलहरूले उनलाई अझै सोचेर निर्णय लिन सुझाव दिएका दिँदै फिर्ता पठाएका थिए ।
तीन दिनसम्म पत्र दर्ता नगरिएपछि आज फेरि उनी सरकारी वकिलमा पुगिन् । बल्लतल्ल उनको निवेदन दर्ता भयो । महान्यायाधिवक्ता कार्यालयलाई पनि सोही व्यहोराको पत्र बुझाइन् । तर, ती निकाय पत्रबाट असन्तुष्ट बनेका छन् ।
उच्च अदालतले फैसलाको पूर्णपाठ तयार गरेपछि सरकारी वकिल कार्यालयले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने कि नगर्ने भनेर निर्णय गर्छ । त्यही तयारीबीच जाहेरवालाले निवेदन दिएपछि कार्यालय अप्ठेरोमा परेको छ ।
सरकारी वकिलको सर्वोच्च निकाय महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले फैसलामाथि पुनरावेदन गर्ने कि नगर्ने भनेर भन्ने हक जाहेरवालालाई नहुने तर्क गरे ।
उनले नेपाल प्रेससँग भने, ‘जाहेरवालाले जाहेरी दिएपछि उहाँको तर्फबाट सरकारले मुद्दा लड्छ । त्यसपछि उहाँ सरकारी साक्षी मात्र हो । अदालतमा पुगेर बकपत्र दिने र फैसला हुँदा क्षतिपूर्ति हुने फैसला भए उहाँ चाहिन्छ । अन्य अवस्थामा उहाँलाई न्याय दिने काम सरकारको हो । मुद्दालाई यसरी लगौँ वा पुनरावेदन नगरौँ भन्ने हक उहाँलाई हुँदैन ।’
यता सन्दीप पक्षले भने जाहेरीकर्ताले नै अघि बढाउन नचाहेपछि पुनरावेदनको ग्राउन्ड नै समाप्त भएको टिप्पणी गरेको छ ।
मुद्दामा संलग्न एक वरिष्ठ अधिवक्ताले भने, ‘उहाँले स्पष्ट शब्दमा उच्च अदालतले गरेको फैसला स्वीकारिसकेपछि जबरजस्ति पुनरावेदन गर्नुको कुनै तुक हुँदैन । यो सरकारी जनशक्ति र स्रोत–साधनको दुरुपयोग मात्र हो ।’
उनले थपे, ‘यो मुद्दा जाहेरीकर्ताको बयानबाहेक आरोप पुष्टि गर्ने कुनै पनि आधार प्रमाण भेटिएका छैनन् । अब जाहेरीकर्ताले नै प्रतिवादीको निर्दोषिता स्वीकार गरिसकेपछि के आधारमा मुद्दा चल्छ ?’
को हो यो गौशाला २६? यत्रो ठगी काण्ड पर्दाफास भै सके पछि पनि ठग र उसको मतियारहरू को परिचय किन नखुलाएको ? यो काण्डबाट डलरबादी हरूले कति डलर हजम पारे त! यस बारे पनि रिपोर्ट हुन पर्छ। कानूनको दूरूपयोग गर्नेमा डलरबादी एनजिओ हरू पनि अग्रपंक्तिमा छन् है ।