कोशीमा सरकार पुनर्गठन हुँदै, कांग्रेसबाट देउवा पक्षका २ र कोइराला, सिटौलाका १-१ मन्त्री हुने – Nepal Press

कोशीमा सरकार पुनर्गठन हुँदै, कांग्रेसबाट देउवा पक्षका २ र कोइराला, सिटौलाका १-१ मन्त्री हुने

विराटनगर । कांगेसबाट कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र संख्या बाँडफाँट टुङ्गिन लागेको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण सरकार पुनर्गठनमा ढिलाइ भएपछि मापदण्ड बनाएर समस्या समाधान गर्न लागिएको छ ।

पार्टीभित्र मन्त्री हुने आकांक्षी धेरै भएका कारण कोशीमा मन्त्रीमण्डल पुनर्गठन हुन सकेको थिएन । सरकारमा सहभागी हुने मन्त्रीका विषयमा मापदण्ड बनाएपछि मन्त्री हुनेको नाम र संख्या बाडँफाटँ सहमति नजिक पुगेको हो ।

कोशी प्रदेश सरकारको पुनर्गठनका विषयमा आज पनि एमाले र कांग्रेसकाबीचमा छलफल हुँदै छ । काठमाडौंमा हुने छलफलका लागि हिक्मत कुमार कार्की आजै काठमाडौँ जाँदै छन् ।प्रदेशमा मात्रै छलफल गरेर मन्त्री हुनेको नाम र मन्त्रालय भागबन्डा नटुङ्गिएपछि शीर्ष नेताहरूको रायसहित बैठक बस्न लागेको हो ।

यस अघि कांग्रेस संसदीय दलको बैठक समेत काठमाडौंमा बसेको थियो। बैठक बसे पनि मन्त्री बन्ने आकांक्षी धेरै भएका कारण कांग्रेसले मन्त्री हुनेको नाम मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन सकेको थिएन । कोशीमा एमालेबाट मुख्यमन्त्रीसहित ५ जना मन्त्री र काङ्ग्रेसबाट ४ मन्त्री बनाउने तयारी छ ।

यस्तै थप १ जनालाई राज्यमन्त्री बनाउने तयारी भएको छ । कांग्रेसका ४ जना मन्त्री मध्य २ जना देउवा पक्षबाट र एक एक जना शेखर कोइराला र सिटौला पक्षबाट मन्त्री बनाउने तयारी भए पनि काङ्ग्रेस भित्रै कुरा मिल्न सकेको छैन ।

शेखर पक्षले कोशीमा २ जना मन्त्री मागेको स्राेतकाे दाबी छ । कोशीमा विवाद भएपछि यस अघि मन्त्री भई सकेकालाई मन्त्री नबनाउने विषयमा छलफल भई रहेको छ ।

पहिला मन्त्री भई सकेकालाई सरकार नपठाउने विषयमा सहमति भए खोटाङका भूपेन्द्र राई, इलामका गोविन्द गिरी , मोरङका भीम पराजुली र मोरङकै मानबहादुर लिम्बु मन्त्री हुने छन् ।

शोभा चेम्जोङ र गयानन्द मण्डल बाट एक जना राज्यमन्त्री हुने देखिएको छ ।

आन्तरिक किचलो मिलाएर सोमबारसम्ममा कांग्रेसबाट मन्त्री हुनेको नाम र मन्त्रालय बाडँफाँट टुङ्गोमा पुग्ने स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले १-२ दिन भित्रमै सबै कुरा टुङ्गिने बताए । उनले मन्त्रालय बाँडफाँटका विषयमा दुई दलका बीचमा कुरा सकेको बताए । माओवादीबाट मन्त्री भएकाहरूले हिजो राजीनामा दिएपछि ३ वटा मन्त्रालय खाली भएको छ । यस्तै उद्योग कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैले राखेकाले सो मन्त्रालय खाली छ ।

खाली भएकै मन्त्रालय लिएर जाने विषयमा कांग्रेस सहमत देखिएको छ । कोशीमा माओवादीले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय लिएको थियो ।

मुख्यमन्त्री कार्कीले चाडै कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी भएको बताए । उनले सरकारमा काङ्ग्रेसलाई सहभागी गराउने विषयमा काठमाडाैंमा छलफल हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर