ग्लोबल टी २०: रोहितको ब्याटिङमा पालो आएन, फिल्डिङ उत्कृष्ट
टोरन्टोको लगातार दोस्रो जित
काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा डेब्यु गरेका छन् । क्यानाडामा जारी ग्लोबल टी २० मा उनले आज टोरन्टो नेसनलबाट पहिलो म्याच खेलेका हुन् । टोरन्टोले लगातार दोस्रो जित हासिल गरेको छ ।
क्यानाडा पुग्न ढिलाइ हुँदा टोरन्टोको पहिलो म्याचमा रोहित अनुपस्थित थिए । दोस्रो खेलमा भने उनलाई सिधै प्लेइङ ११ मा समावेश गरियो ।
ब्राम्प्टन उल्भ्सविरूद्धको खेलमा टोरन्टोले टस हारेर पहिले फिल्डिङ गरेको थियो । टोरन्टोका कप्तान कोलिन मुनरोले रोहितलाई बलिङमा उतारेनन् । यद्यपि रोहितले फिल्डिङबाट आफ्नो छाप छोड्न सफल भए । उनले एक उत्कृष्ट रनआउट तथा एक शानदार क्याच लिएका थिए ।
टोरन्टोका ओपनर आरोन जोन्सनलाई रोहितले शून्य रनमा आउट गराएका थिए । जर्ज मुन्सेले लेग साइडतर्फ हानको बललाई रोहितले रोक्दै द्रुत गतिमा ननस्ट्राइकतर्फ फ्याँके र उन्मुक्त चन्दले स्टम्प ढाले । जोन्सन एक बल पनि फेस गर्न नपाइ पेभिलियन फर्किनु परेको थियो ।
रोहितको शानदार बाउन्ड्री क्याचमा उल्भ्सले सातौं विकेट गुमाएको थियो । जुनैद सिद्दिकीको बललाई अखिल कुमारले हावामा खेल्दै बाउन्ड्रीको दिशामा हुइक्याएका थिए । तर रोहितले बाउन्ड्री लाइनमा हस्तक्षेप गरे ।
रोहितले सुरूमा बल समातेर बाउन्ड्री रोपमा टच हुने डरले हावामा उडाए र आफू बाहिर निस्के । फेरि भित्र पसेर क्याच पुरा गरे । उनको यो क्याचले हालै टी २० विश्वकपमा भारतका सुर्यकुमार यादवले गरेको क्याचलाई सम्झाएको थियो।
टोरन्टोले ब्राम्प्टनलाई ११० रनमै अलआउट गरेको थियो । टोरन्टोका लागि जुनैद सिद्दिकीले सर्वाधिक ३ विकेट लिए ।
जवाफी ब्याटिङमा टोरन्टोले दुई विकेट क्षतिमा १३.२ ओेभरमै लक्ष्य भेट्टायो । भारतीय ब्याट्सम्यान उन्मुक्त चन्दले ४० बलमा ५३ रन बनाएपछि टोरन्टोले सहज जित हासिल गरेको हो । छैटौं नम्बरमा रहेका रोहितले ब्याटिङको पालो पाएनन् ।
टोरन्टोले पहिलो म्यातमा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी संलग्न भ्यानकुभर नाइट्सलाई हराएको थियो ।