सिमलताल दुर्घटनाः त्रिशूलीमा देखिएको रातो वस्तु बस नभएको पुष्टि, भारतीय टोली आज फर्किने
चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारी क्षेत्रमा पर्ने रातो वस्तु सिमलतालबाट हराएको बस नभएको पुष्टि भएको छ ।
स्थानीयले त्रिशूलीबीचमा देखिएको भनेर प्रहरीलाई खबर गरेको रातो वस्तु बस नभएको सुरक्षाकर्मीको तालिमप्राप्त उद्धार टोलीले हेरेपछि पुष्टि गरेका हुन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूली नदीमा पानीको भूल्को बीचमा देखिएको वस्तु बस होइन ।
शनिबार बस खोज्ने क्रममा १९ किलोको म्याग्नेटसँगै हराएको रातो रंगको ट्यूव हो कि भन्ने आशंका सुरक्षाकर्मीले गरेपनि बस भने नभएको पुष्टि गरेको हो ।
यसैबीच नौ दिनदेखि सिमलता पहिरोबाट त्रिशूलीमा खसेको बस र यात्रु खोज्न नेपाल आएर यहाँका उद्धार टोलीलाई सहायता गरेका भारतीय उद्धार टोली आज फर्किने निश्चित भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी यादवले आजसम्म सक्दो प्रयास गरेपनि उपलब्धी नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिइसकेको भएकोले टोली फर्किन लागेको नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार बिहान भारतीय उद्धार टोलीसँग चितवनका प्रमुख जिल्ला अधिकारी, उद्धारमा संलग्न सुरक्षाकर्मीको टोलीसहित समीक्षा तथा धन्यवाद बैठक गरिनेछ । र, अहिलेसम्म गरिएको उद्धार कार्यबाट भएको सिकाइबारे समीक्षा गरेपछि १२ जनाको उद्धार टोलीलाई विदाइ गरिनेछ ।
असार २८ गते भरतपुर महानगरको वडा नम्बर २९ मा पर्ने सिमलतालमा माथिबाट आएको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा बगाएको थियो । दुई बसमा गरेर ६५ यात्रु सवार भएकोमा ३ जनाले ज्यान जोगाएका थिए ।
भने बाँकी यात्रु नदीमा नै बेपत्ता भएका थिए । बेपत्तामध्ये पनि १९ जनाको शव भेटेर पहिचान भएको छ । अन्य यात्रु भेटिएका छैनन् । केही भेटिएका शवको पहिचान खुलेको छैन । भने, त्रिशूलीमा हराएको दुबै बस अहिलेसम्म भेटिएको छैन ।